जनताका इच्छा चाहनालाई परिपुर्ति गर्दैछौ प्रधानमन्त्री : ओलि

मुग्लानी खबर असोज १

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजनीतिक उपलब्धि हासिल भइसकेकाले अब विकासको गतिलाई तीव्र ढंगले अघि बढाउनुपर्ने बताउनुभएको छ ।

सातौं विज्ञान दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेकोे कार्यक्रमलाई बुधवार राष्ट्रियसभा गृहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको विकासका चाहनालाई अघि बढाउन सबै प्रयास केन्द्रित गराउने बताउनुभयो ।

‘सरकारबाट जनताले विकासका धेरै अपेक्षा राखेका छन् । यसमा हामी गम्भीर छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तीव्र गतिमा काम गर्नका लागि विकासलाई प्रविधिसँग जोड्नु आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले समय बदलिएको नभइ आफूहरूले समयलाई बदलेको बताउनुभयो । लोकतान्त्रिक व्यवस्थामार्फत नै देशलाई अघि बढाउनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ । ‘नेपाली जनताले दुःख पाउनुपर्ने कुनै कारण छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मुख्यगरी ३ कारणले नेपालीहरूले दुःख पाउनु हुँदैन । पहिलो हामी विद्वान र वीर पूर्खाका सन्तान हौं । दोस्रो हामी प्राकृतिक स्रोत र साधनले भरिपूर्ण ठाउँमा छौं र तेस्रो हामीसँग युवा र क्रियाशील जनसंख्याको बाहुल्यता छ । यी सबै चीजको उपयोग हुने हो भने सबै नेपाली समृद्ध र सुखी  हुनेछन् ।’

प्रधानमन्त्री ओलीले विज्ञान र दर्शनलाई जीवनसँग जोड्नु पर्ने बताउनुभएको छ । ‘हाम्रा लागि अहिले धेरै अवसर छ । किनकि हामीलाई आवश्यक पर्ने धेरै प्रविधि अरुले नै पत्ता लगाइदिएका छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले प्रविधिको सकारात्मक प्रयोग गरेर समाजलाई अगाडि बढाउनु पर्दछ ।’


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *