जुजुभाईको अनुभवः जतिसुकै पिडा होस् तर रगत नबगोस

मुग्लानी खवर असोज २ ( रासस )
–नारायण ढुङ्गाना

‘तिम्ले यो गर्न सक्दैनौँ, तीन दिन भोकै बस्नुपर्छ, एक महीनादेखि तयारी गर्नुपर्छ, सबैलाई भोज खुवाउनुपर्छ’ भनेर गाउँलेले जिब्रो छेड्न डर देखाएका थिए ।

त्यसो त झक्तपुर थिमिको बिस्का (बिस्केट) जात्रामा जिब्रो छेड्दा रगत बग्यो भने अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेकोले डर पलाउनु स्वभाविक थियो । “गाउँलेको कुरा मेरो दिमागमा खेलिरह्यो, डर पनि लाग्यो, जतिसुकै पिडा भए पनि रगत चाहिँ नबगोस् भन्ने चाहना मात्रै हुन्थ्यो, पहिलो पटक जिब्रो छेड्दा रगत नआएपछि त्यसबेला बल्ल आफूले गरेको काम सफल भएको महसुस भयो र खुसी लाग्यो”, जुजुभाई बासँ श्रेष्ठले अनुभव सुनाउनुभयो ।

भक्तपुर थिमिका श्रेष्ठले २०६६ वैशाख २ गते पहिलोपटक जिब्रो छेड्नुभएको थियो । जिब्रो छेडेपछि चन्द्राकारको महादीप बोकेर हिँड्नुपर्छ । जिब्रो निकालेर शहरको परिक्रमा गर्नुपर्छ । यसरी जिब्रो छेडेका व्यक्तिलाई सर्वसाधारणले देवता सरह मान्छन् । मानिसलाई दुःख कष्ट दिने राक्षसलाई समातेर जिब्रो छेडी सहर घुमाए दुःख नाश हुन्छ भन्ने विश्वासमा जात्रा मनाइन्छ । जात्राको आकर्षण नै जिब्रो छेड्ने परम्परा हो । त्यही परम्परा धान्नका लागि जुजुभाईले आठ वर्षसम्म जिब्रो छेडेर २०७३ सालदेखि टुङ्ग्याउनुभयो, तर अहिले पनि उहाँलाई गुरुको मान प्राप्त छ ।

जात्रैजात्राको शहर भक्तपुरको धार्मिक महत्व बोकेको, कला संस्कृति र मठमन्दिरले सिङ्गारिएको मध्यपुरथिमिको पर्याय हो, बिस्का जात्रामा जिब्रो छेड्ने परम्परा । कलाकारसमेत रहेका जुजुभाई आफ्नो मौलिक कला र संस्कृतिलाई बचाउन जिब्रो छेडेर जिम्मेवारी पूरा गरेको महसुस गर्नुहुन्छ ।

भक्तपुरको बोडेमा वर्षेनी जिब्रो छेड्ने बुद्धकृष्ण बाग श्रेष्ठले २०६६ सालमा नछेड्ने भनेर पत्रपत्रिकाबाट खबर सार्वजनिक भयो । त्यसपछि उहाँले परिवारसँग सल्लाह गरेर जिब्रो छेड्ने निर्णय लिनुभएको हो । जिब्रो छेडिने सुइरोलाई लामो समयदेखि तेलमा डुबाएर राखिन्छ । त्यही सुइरो ल्याएर देवगणको पूजा गरी मौलिक बाजा बजाउंँदै सबैका सामु जिब्रो छेड्ने परम्परा छ । जिब्रो छेडेपछि अर्धचन्द्रको महादीप बालेर काँधमा बोकाइ सहर परिक्रमा गरिन्छ । बोडेका विभिन्न शक्तिपीठ दर्शन गराएपछि विधिपूर्वक झिकेर सुइरोलाई त्यही राख्ने परम्परा रहेको यहाँका संस्कृति अध्येता प्रदीप श्रेष्ठले बताउनुभयो ।

‘श्रीश्री जुजुभाईकी जय’ भनेर जयजयकार गरेको सम्झना उहाँका सामु अझै ताजा छ । जुजुभाईले रासससँग भन्नुभयो, “हामी साधारण मान्छेलाई देवतुल्य भनेर भन्छन्, आफूलाई त्यस्तो महसुस भएन, तर त्यहाँबाट लोकप्रिय भएँ, गाउँले र अरुले चिन्न थाले, पहिलो आर्ट शिक्षकको रुपमा मात्रै थिएँ, त्यसपछि सबैमाझ परिचित हुने मौका मिल्यो ।” आठ पटक जिब्रो छेडेर संस्कृतिलाई बचाउन पाउँदा मनमा शान्ति मिलेको उहाँले बताउनुभयो ।

पहिलो पटक जिब्रोमा सुइरो रोप्दा

पहिलो पटक सुइरो रोप्दा जुजुभाईलाई डर र खुसीको मिश्रित अनुभव रहयो । जिब्रोको माथिल्लो भागमा मासु हुने भएकाले सजिलै जाने तर तल्लो भागको झिल्ली छेड्न निक्कै गाह्रो भएको उहाँले सुनाउनुभयो । छेड्दा जति दुख्छ त्योभन्दा बढी निकाल्दा दुख्ने जुजुभाईको अनुभव छ । “झण्डै दुई घण्टा छेडेको जिब्रो बाहिर राख्नुपर्छ, ¥याल बगिरहेको हुन्छ, जिब्रो कक्क्रक्क भएर सुकिसकेको हुन्छ, त्यसबेला सुइरो निकाल्दा पिडा महसुस हुने रहेछ”, जुजुभाईले भन्नुभयो ।

उहाँले २०६६ सालदेखि २०७३ सम्म जिब्रो छेडेर संस्कृतिलाई निरन्तरता दिनुभयो । त्यसपछि बुद्धकृष्ण बाग श्रेष्ठले पुनः निरन्तरता दिँदै आउनुभएको छ । तीर्थमायाँ र सानुभाईको पाँचौँ सन्तान (माइला छोरा) जुजुभाईका तीन दाजुभाई र तीन दिदीबहिनी हुनुहुन्छ । जिब्रो छेड्न छाडेपनि गुरुको स्थानबाट पूजाआजामा सरिक हुँदै आएका जुजुभाईले २८ वर्षको उमेरमा पहिलो अनुभव लिनुभएको थियो ।

परम्पराअनुसार जिब्रो छेडेमा अनावृष्टि हुँदैन, अनिकाल लाग्दैन, महामारी, महाभूकम्प आउँदैन, पाहुनालाई सजिलोसँग पाल्न सकिन्छ र धर्मप्रति आस्था बढ्छ भन्ने जनविश्वास छ । विधिपूर्वक जिब्रो छेड्नुपर्छ । सुइरो बनाउने व्यक्तिले पनि व्रत बस्नुपर्छ । जिब्रो छेड्नेले पनि तीन दिन व्रत बस्नुपर्छ । पशुपक्षीलाई छुन हुँदैन, तीन दिन पानी मात्रै खाएर बस्नुपर्छ र विभिन्न अनुष्ठान गरेर बस्नुपर्छ । अर्काको घरमा समेत जान नहुने परम्परा छ ।

जुजुभाईको नदेखिएको पाटो

जिब्रो छेडेर चर्चा कमाउनुभएका जुजुभाई फाइन आर्टस्का अनुभवी कलाकार हुनुहुन्छ भन्ने कुरा कला क्षेत्रमा बाहेक कमैलाई थाहा होला । जलरङ र एक्रेलिकबाट चित्रकारिता गर्न मन पराउने जुजुभाई लामो समयदेखि स्कूलका विद्यार्थीलाई चित्रकला पढाउँदै आउनुभएको छ । फुटबलकासमेत पारखी जुजुभाई भन्नुहुन्छ, “आर्ट भनेको मेरो मुख्य पेशा हो, जीवनभर गर्ने काम हो, जिब्रो छेड्ने परम्परा सकुञ्जेल मात्रै गर्ने हो ।”

कलाकारले फेसबुकको माध्यमबाट शुरु गरेको शनिवारीय स्थलगत चित्रकला कार्यशालाको ‘मध्यपुरथिमि सिरिज’अन्तर्गतको छैठौँ कार्यक्रममा मध्यपुरथिमिस्थित शिवाटोलको महादेव र गणेशको मन्दिरलाई जलरङले आर्ट पेपरमा उन्दै गर्दा भेटिनुभएका जुजुभाई चित्रकलाले संस्कृति र परम्परा संरक्षणमा सहयोग पुग्ने बताउनुहुन्छ ।

यही भदौ २८ गतेदेखि शुरु उक्त अभियानअन्तर्गत थिमिको बोडे, नगदेश, निगुपुखु (दुई पोखरी), चपाचो, सिद्धिकाली र लायाकुमा कार्यशाला सम्पन्न भइसकेको छ । थिमिको महत्व र किम्बदन्तीका बारेमा संस्कृति अध्येता प्रदीप श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रम संयोजक दिवेश प्रधान चित्रकलामार्फत थिमिलाई चिनाउनु नै अभियानको मुख्य उद्देश्य हो भन्नुहुन्छ । यही कात्तिक १० गते कलाकारले बनाएका चित्र दुई पोखरीमा प्रदर्शन गरिँदैछ । पुरातत्व विभागका पुरातत्व अधिकृत प्रकाश खड्काले ५०० वर्ष पुरानो पूर्वमध्यकालका संरचना र लिच्छविकालिन सभ्यता रहेको थिमिमा नयाँ वर्षको बेला मनाउने बिस्का (सिन्दुर) जात्रा प्रसिद्ध रहेको बताउनुभयो ।
(रासस )


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *