मुग्लानी खबर कार्तिक २२
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले नेपालको सीमा मिचेर सार्वजनिक गरेको नक्सा तत्काल खारेज गर्न नेपाल सरकारसँग माग गरेका छन्।
बुधबार राप्रपाले तुलसीपुरमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका थापाले नेपालको अभिभाज्य भूमि कब्जा गर्ने कार्य अत्यन्तै आपत्तिजनक रहेको बताए।
भारतले धेरै लामो समयदेखि कालापानी र लिपुलेकमा अनाधिकृत रूपमा कब्जा गर्दै आएको भए पनि त्यसलाई नेपालले निरन्तर विरोध गर्दै आइरहेको अध्यक्ष थापाले बताए।
भारत सरकारले प्रकाशित गरेको आधिकारिक भारतको नक्सामा कालापानी र लिपुलेकलाई भारतप्रति पारिएको भन्दै उनले त्यसको विरोध गरे। त्यो कदापी स्वीकार्य नभएको अध्यक्ष थापाले स्पष्ट पारे।
‘नेपालको सीमा अतिक्रमण गर्ने कुरा होस् वा नेपालमा आफ्नो स्वार्थ लाद्ने कुरा होस् त्यसमा विदेशीहरूको मनोबल बढेर गएको देखिन्छ,’ अध्यक्ष थापाले भने, ‘ हाम्रा देशका ठूला नेताहरूको लाचारी,आत्मसर्मपणवादी नीति,सत्तामा पुग्न र सत्तामा पुगेपछि टिकेर बस्न विदेशीको चाकडी गर्ने स्थितिको कारणले आज नेपालीको शिर निहुरेको छ।’