राष्ट्रपतिले गरिन् अयोध्याबाट आएका जन्तीलाई स्वागत 

सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह समितिद्वारा जनकको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले जन्तीलाई स्वागत सम्मान गर्दै प्रतीकात्मक रूपमा रहेका सीता र रामलाई टीका लगाइन् ।

उनले प्रतीकात्मक मिथिला राजा जनककी धर्मपत्नी सुनयनालाई पनि सम्मानलाई गरेकी थिइन् ।

गोस्वामी तुलसीदासद्वारा लिखित ‘रामचरितमानस’ अनुसार त्रेतायुगमा बाह्रबिघामा नै धनुष यज्ञ हुँदा भगवान् रामले धनुषमा ताँदो चढाउँदा शिवधनुष खण्डित भएको थियो ।

अयोध्याबाट आएका प्रतीकात्मक दशरथको भूमिकामा रहेका कन्हैया दासले रामको चरित्रलाई दिगो बनाउन सीताको अहम् भूमिका रहेको बताउँदै सीतारामको आदर्श मानवीय सभ्यता र संस्कृतिका लागि शिक्षाप्रद रहेको प्रसङ्ग उल्लेख गरे।

नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले नेपाल–भारतको सम्बन्ध धार्मिक, सांस्कृतिक एवं प्राकृतिक भएको बताए ।

मूल समारोह समितिका संयोजक एवं जानकी मन्दिरका महन्त रामतपेश्वर दासको अध्यक्षतामा भएको सो समारोहमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह र जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले महोत्सवको उपादेयताबारे प्रकाश पारे ।

सो अवसरमा मिथिला नाट्यकला परिषद्का कलाकारद्वारा जानकी लीला (फूलावारी प्रसङ्गदेखि स्वयंवर)को प्रस्तुति भएको थियो ।


Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *