काठमाडौँ – सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए ।
‘सीधा कुरा जनतासँग’ कार्यक्रम न्यूज २४ टेलिभिजनबाट सञ्चालन गरेर चर्चामा आएका लामिछाने केही समय पहिले सो टेलिभिजनबाट बाहिरिएका थिए ।
लामिछानेले घोषणा गरेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा रामायण, को बन्छ करोडपछिसहितका कार्यक्रम प्रशारण हुने जानकारी दिइएको छ । यस्तै कलाकार दीपकराज गिरीले क्राइम पेट्रोल कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिइएको छ ।
आफ्नो टेलिजिनमा सा रे ग म प सहितका फ्रेन्चाइज कार्यक्रमहरु पनि आउने लामिछानेले बताएका छन् ।
यस्तै महावीर पुनले आविश्कार नामक कार्यक्रम र रमेश प्रसाईले सामाजिक विषयमा केन्द्रित अन्तर्वार्ता मुलक कार्यक्रम लाल मोहर सञ्चालन गर्ने लामिछानेले जानकारी दिएका छन् ।
टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।