प्रदेश नं १ सरकारले प्रदेशका स्वास्थ्य संस्थामा कोभिड–१९ को रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि रु तीन करोड ८५ लाख निकासा गरेको छ । मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकारका अनुसार सरकारले प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र विराटनगरका लागि रु ५० लाख, मेची अस्पताल भद्रपुर झापाका लागि रु २५ लाख, जिल्ला अस्पताल सुनसरी, जिल्ला अस्पताल धनकुटा र उदयपुर कोभिड–१९ अस्पतालका लागि रु २० –२० लाख, जिल्ला अस्पताल पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, मदन भण्डारी तथा ट्रमा सेन्टर र ताप्लेजुङ गरी रु एक करोड ५० लाख, जिल्ला प्रशासन कार्यालय झापाका लागि रु.२० लाख, जिल्ला प्रशासन कार्यालय सुनसरीका लागि रु १५ लाख, इलामका लागि रु १५ लाख, मोरङका लागि २० लाख, ओखलढुङ्गाका लागि रु १५ लाख एवं भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उपयपुर, पाँचथर र ताप्लेजुङका लागि रु ५० लाख विनियोजन भई आजै निकासा गरेको छ ।
निषेधाज्ञा जेठ १ गते सम्म थप
मोरङ जिल्लामा निषेधाज्ञा आगामी जेठ १ गतेसम्मका लागि थपिएको छ । पहिलो चरणमा यही वैशाख १८ गते राति १२ बजेदेखि सात दिनका लागि विराटनगरपालिकालगायत क्षेत्रमा निशेधाज्ञा जारी गरिएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधज्ञा लागु गरिए पनि नागरिकलाई खाद्य सामग्री उपलब्ध गराउन बिहान ६ देखि १० बजेसम्म सामाजिक दूरी र स्वास्थ्य आचारसंहिता पालना गराउँदै उपलब्ध गराउने व्यवस्था मिलाइको जानकारी दिनुभयो ।
७९१ कोरोना सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा आज ७९१ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७५१ जनाको पिसिआर परीक्षण गर्दा ३३० महिला र ४६१ पुरुषमा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३५ हजार ९२० पुगेकामा ३० हजार ११३ सङ्क्रमणमुक्त्त भएका छन् । यस्तै सक्रिय सङ्क्रमितको सङख्या पाँच हजार २७० पुगेको छ ।रासस