"नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं" भन्ने नारा सहित गैर आवासीय नेपाली संघ, मध्यपूर्व संयोजन समितिद्वारा थालिएको अभियानमा कतारबाट मात्र पछिल्लो तीनदिनमा १७८ थान सिलिण्डरको मूल्य बराबरको रकमर नगद प्रतिवद्वताको रकम २६ हजार २ सय ३५ कतारी रियाल गरी कुल १ लाख, ४ हजार, २ सय कतारी रियाल भन्दा बढी उठेको छ।
अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियानका मध्यपूर्व संयोजक समेत रहेका गैर आवासीय नेपाली संघका सचिव आरके शर्माले दिएको जानकारी अनुसार १ थान अक्सिजन सिलिन्डरको मूल्य नेपाल पुग्दासम्म १२० अमेरिकी डलर बराबर पर्ने र सोहि अनुसार सहयोग जुटाउन उनले अपील गरे बमोजिम कतारबाट मात्र उक्त रकम संकलन भएको हो।
शुरुमा ६०० सिलिन्डर नेपाल पठाउने भनिएको भएपनि आजको (शनिबार,जेष्ठ १ गते) उडानबाट कुल ५६० थान सिलिन्डर नेपाल पुग्ने सचिव शर्माले जनाकारी दिएका छन्। "हामीले आजको उडानबाट ५६० थान सिलिन्डर नेपाल पठाउँदै छौं, नेपालको समय अनुसार आज साँझ ०६:४० मा काठमाण्डौमा अवतरण हुँदैछ।"
गत बिहिबार गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद कतारद्वारा भर्चुअल मार्फत आयोजना गरिएको 'ईद मिलन' कार्यकममा कतारमा स्थापित संघ संस्थाहरुलाई एनसीसीका कतारका अध्यक्ष मुहम्मद मुक्तदा मुसलमान र आईसीसी सचिव आरके शर्माले सहयोग जुटाउन सामुहिक अपील गरेका थिए।
हालसम्म करीव ५० भन्दा बढी संघ संस्थाहरु, व्यबसायिहरु, बुद्विजिवीहरुको सहभागिताबाट उक्त सहयोग जुटेको र अझैं सहयोग जुट्ने क्रम जारी रहेको एनसीसी कतारका अध्यक्ष मुहम्मद मुक्तदा मुसलमानले जानकारी दिएका छन्।