काठमाडाैं- आयाेजक नेपालले त्रिदेशीय टी २० क्रिकेट सिरिज हात पारेकाे छ। शनिबार भएकाे फाइनल खेलमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेकाे हाे।
नेपालले दिएकाे २३९ रनकाे बिशाल लक्ष्य पछ्याएकाे नेदरल्याण्ड्स १७.२ ओभरमा १० विकेट गुमाउँदै ९६ रनमै समेटियाे।
नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनाएको थियो। टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो।
नेपालका कुशल भुर्तेल र कुशल मल्लले अर्धशतक बनाए। ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्काको मद्दतमा ७७ रन बनाए भने मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतमा ५० रन बनाए।
यस्तै दिपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गर्दै १८ बलमा ४८ रन बनाए। उनले ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान ज्ञानेन्द्र मल्लले तीन चौका र २ छक्काको मद्दतमा ३३ र आशिफ शेखले एक चौका र २ छक्कासहित १६ जोडे।
बलिङतर्फ नेदरल्याण्ड्सका फिलिप बोइसेभिएनले दुई र सेबास्टिएन ब्राटले एक विकेट लिए।
२३९ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो। उसका लागि सेबास्टिएन ब्राटले २६, म्याक्स् ओ’डोडले २२ र कप्तान पिटर सिलारले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
नेपालका लागि बलिङतर्फ करन केसीले तीन, सन्दीप लामिछाने र कमलसिंह ऐरीले दुई–दुई तथा अविनाश बोहराले एक विकेट लिए विकेट लिए।सिरिजमा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी थिए।