दोहा कतार।
नेपालीहरुको राष्ट्रिय चाड तथा तामाङ जातिको महान चाड सोनाम ल्होछार २८५९ औं को शुभ अवसरमा भब्य सांस्कृतिक कार्यक्रम हुने भएको छ।
नेपाल प्रवासी तामाङ समाज कतारले बिगतका वर्षहरुमा जस्तै यसपटक पनि ल्होछार मनाउने भएको छ । समाजले ल्होछार कार्यक्रमका लागि डिसेम्बर ९ तारिख बसेको बैठकले नेपालबाट दुई जना कलाकार ल्याउने निर्णय समेत गरेको छ ।ल्होछार मनाउने निर्णय भने समाजको यसअघिको बैठकमा भएको हो।
तामाङ समाजले सन् २०२३ जनवरी २७ तारीख दोहाको अम्वाज क्याम्प-२ मिसाइदमा मनाउन लागिएको ल्होछार कार्यक्रम बिहान् १० बजेदेखि सुरु हुने छ । ल्होछार कार्यक्रम स्थलसम्म पुग्न नि:शुल्क यातायात सेवा र खानपिनको समेत व्यवस्था रहेको द्वितीय उपाध्यक्ष अस्मिता घिसिङको भनाइ छ ।
समाजकी द्वितीय उपाध्यक्ष घिसिङका अनुसार बिगत बर्षहरुमा झैं यसवर्ष पनि “तामाङ संस्कार संस्कृतिको संरक्षण र पुस्तान्तरण गरौं "। तामाङ जातिको महान राष्ट्रिय पर्व मन्जुश्री संवत् २८५९ औं सोनाम ल्होछार घर घरमा मनाऔं “ भन्ने नाराका साथ सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा साँस्कृतिक महोत्सव-२०२३´ मनाउन लागिएको हो । कार्यक्रमका लागि नेपालबाट सेलो गायक एवं संगीतकार बैरागी मोक्तान र म्हेन्दोमाया गायिका तथा RJ सबिना तामाङलाई अतिथि कलाकार रुपमा निमन्त्रणा गरिने भएको छ ।
स्थापनाकाल देखि नै तामाङ समाज कतारले नेपालबाट ल्याएका कलाकारहरु र यहाँ कार्यरत तामाङ कलाकारहरुको सहयोगमा सन्देश मुलुक सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ । कतारमा कार्यरत तामाङ तथा गैर तामाङ, समाजसेवी, बुद्धिजीवी पत्रकार लगायत अन्य विभिन्न पेशामा आबद्ध रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भैई सभ्य अनि भब्य रुपमा सफल बनाईदिन हुन आयोजकले अनुरोध गरेको छ।
सांस्कृतिक महोत्सवमा तामाङ संस्कार संस्कृति झल्किने सांगितिक प्रस्तुतिहरु प्रस्तुत हुने साथै तामाङ पहिचान झल्किने झाकि , तम्ब लामा, बोम्बो लगायत भेषभुषा र तामाङ खानाको परिकार प्रदर्शन हुने समाजका अध्यक्ष सुवास तामाङले अनलाईन मिडिया मुग्लानी खबरलाई जानकारी गराएका छन।