आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं ५ बुटवलको सहयोगमा बाँकेको राप्तीसोनारी गाउँपालिका–६, नरैनापुर गाउँपालिका–६, डुडुवा गाउँपालिका–१ मा बाढी र डुबानमा परेका व्यक्तिको खोज र उद्धारलाई सहज बनाउन हेलिप्याड निर्माणको काम अघि बढिरहेको छ ।
त्यसका लागि राप्तीसोनारी–६ मा तीन रूख र नरैनापुरमा दुई विद्युत्का खम्बाले काममा अवरोध पारेकोले रूख कटान र खम्बा सार्ने काम शुरु गरिएको बाँकेका प्रजिअ रामबहादुर कुरुम्बाङले बताउनुभयो । “वन र विद्युत् कार्यालयसँग समन्वय गरी काम अघि बढाएका छौँ”, उहाँले भन्नुभयो । “बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न खोला च्यानलाइज गर्ने निर्णय गरेका हौँ”, प्रजिअ कुरुम्बाङले भन्नुभयो, “बाढीबाट निकुञ्जभित्रको वनस्पति र जीवजन्तुको संरक्षण, पूर्वपश्चिम राजमार्ग राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको जोखिम कम गर्न वातावरणीय प्रभाव मूल्याङ्कन गरी वातावरणीय परीक्षण गर्न राष्ट्रिय निकुञ्जलाई अनुरोध गरेका छौँ ।” जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले बाढीको पूर्वतयारीका लागि खोला च्यानलाइज गर्ने निर्णयसमेत गरेको छ ।
बाँकेमा बर्खा लागेर खोलामा पानीको सतह बढेसँगै राप्तीसोनारी गाउँपालिकाका बासिन्दा जोखिममा परेका छन् । यहाँको गोदारपुर, माथेबास, खोरिया, कचनापुर, मदुई, मदुवा हरिहरपुर, अम्रवा, टीकलीपुर, शमशेरगञ्ज, राजपुर गाउँ बाढीबाट डुबानको उच्च जोखिममा छन् । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम चौधरीले भन्नुभयो, “बर्खाले खोला बढेसँगै बस्ती डुबानको जोखिममा परेको हो ।”
हरेक वर्ष बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खैरे खोला र मुगा नदीको बहाव उर्लिएर बस्तीसम्म पुग्छ । राजमार्गको बीचमा खैरे खोला छ भने राप्तीसोनारी गाउँपालिका–८ र २ वडाको बीचमा मुगा खोला बगेको छ । यी खोलामा पानी बढेसँगै सिक्टा नहरमा मिसिन्छ ।
पानीको अधिक बहाव थेग्न नसकेर सिक्टा नहर भत्किने सम्भावनासमेत उत्तिकै रहेको सिक्टा सिँचाइ आयोजना प्रमुख लोकबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षौंदेखि बाँकेका बासिन्दाले भोग्दै आएको समस्या समाधान गर्न जिल्ला प्रशासन, आयोजना प्रमुख, निकुञ्ज प्रमुखलगायतले स्थलगत अनुगमन गरेका थिए ।
“खोलाको पानी थेग्न नसकेर एकातिर सिक्टा भत्किने डर छ भने अर्कौतिर बस्ती नै डुबानमा पर्ने खतरा बढेको छ”, आयोजना प्रमुख थापाले भन्नुभयो, “ढुङ्गा, गिट्टी, थुप्रिँदा नदीको बहाव नै बन्द भएको छ ।” खैरी खोलाको पानी पनि बढेको छ । खोलाको पानी पुलसम्म आउन थालेको छ । यसरी पानीको सतह बढेपछि धार परिवर्तन गर्न सक्छ । जसले महेन्द्र राजमार्ग, जङ्गल, खोला किनारको बस्तीलाई क्षति पु¥याउनेछ । यसले सिक्टा नहरलाई प्रभावित गर्नेछ । “बाँके राष्ट्रिय निकुञ्जमा पर्ने नदीको स्रोत उत्खनन गर्न जलवायु परिवर्तनमा असर नपरोस् भनी वातावरण प्रभाव मूल्याङ्कनको प्रतिवेदन चाहिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि आवश्यक पहल गरेर बाढीबाट जोगिने प्रक्रिया शुरु गरेका छौँ ।” RSS