सर्लाही, २ फागुन l पाठेघर खस्ने समस्याको रोकथाम, व्यवस्थापन तथा प्राथमिक उपचारसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । बागमती सेवा समाजको आयोजनामा सर्लाहीको हरिवनमा आयोजित तालिममा रौतहट र सर्लाहीका १४ जना नर्सिङ स्टाफको सहभागिता थियो ।
सहभागी नर्सिङ स्टाफलाई परामर्शकर्तामा हुनुपर्ने सीप, पाठेघर खस्ने चरण, रिङपेसरी लगाई दिने तरिका, पाठेघर खस्ने समस्याको मांसपेशीसम्बन्धी अभ्यासबारे जानकारी दिइएको थियो । तालिमका क्रमा सहभागी नर्सिङ स्टाफलाई फिल्ड भिजिटसमेत गराइएको थियो । उहाँहरूलाई प्रसूति रोग विशेषज्ञ डा मुरारीप्रसाद ठाकुर र सह–प्रशिक्षक पूर्वपब्लिक हेल्थ नर्स लक्ष्मी श्रेष्ठले तालिम दिनुभएको थियो ।
ईश्वरपुर नगर अस्पतालमा गराइएको भिजिटमा १७ जना महिलाको स्वास्थ्य परीक्षण भएको थियो । सो क्रममा सेकेन्ड डिग्री अवस्थामा रहेका एक जना महिलालाई रिङपेसरी लगाइएको, थर्ड डिग्रीका दुई जना र बाँकी १४ जनामा पाठेघरसम्बन्धी समस्या रहेको फेला पारिएको सहप्रशिक्षक श्रेष्ठले बताउनुभयो ।
सर्लाही तथा रौतहटमा महिलाको कूल जनसङ्ख्या करिबमध्ये ४० प्रतिशत कुनै न कुनैरुपमा पाठेघरको समस्या रहेकाले स्थानीय नर्सिङ स्टाफलाई पाठेघर खस्ने समस्याको रोकथाम व्यवस्थापन तथा प्राथमिक उपचारसम्बन्धी तालिमको आयोजना गरिएको बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले बताउनुभयो ।
सानो उमेरमा विवाह भई शिशु जन्माउनु, सुत्केरी अवस्थामा आराम नहुनु, पौष्टिक आहारको कमी र समाजमा स्वास्थ्य चेतनामा कमीका कारण ग्रामीण महिलामा प्रायः पाठेघर खस्ने समस्या रहेको बताइएको छ ।