काठमाण्डौ, कतिपय सत्य कुरा हुँदाहुँदै पनि मनैबाट स्वीकार गर्न बर्षौ लाग्ने रहेछ।वुवा स्वर्गीय भएको कुरा स्वीकार्न मैले अझै पनि सकि राखेको छैन।फेसबुकको वालमा फोटोसम्म राख्न सकिन किनकि समवेदनाका शब्दहरूले मेरो मन नझस्कियोस् भनेर!
मैले यी बर्षहरूमा बुवाको तस्वीर मेरो ह्दयमा राखे तर घरको वालमासम्म झुण्ड्याउन सकिन।हुन त मृत्यू सत्य हो शाश्वत !जन्मे पछि मर्नु पर्छ।तर जब आफूलाई पर्छ स्वीकार गर्न निकै कठीन हुँने । अझै फर्केर आईदिए जस्तो लागिरहने।आउनुहुन्छ कि भन्ने आशा पनि लागिरहने !र पनि यथार्थ यथार्थ नै हो स्वीकार्नु पर्ने।
धेरै माया लाग्नेहरूको अनुहार भुलिन्छ रे!
मैले कैयौ पटक बुवाको अनुहार पनि भुलेको हुन्छु।अनि नजिकै ऊल्टोतिर फर्काएर राखेको ठूलो साईजको फोटो हेर्छु र झट्टपट्ट फेरि फर्काएर राखिहाल्छु। एक पटक बुबासँग भेटेर फर्किए झै लाग्छ पनि।
भदौ लाग्दा वर्षा सकिएको खुशीसँगै ।चाडहरू नजिक नजिक आएको झै लाग्ने सधैं।तर पछिल्ला दिनहरूमा भदौको चारले यहि दिन घरिघरि सम्झाईदिन्छ।चाडहरू पनि सुनो सुनो लागिरहे। केही न केही कुराको अपुग रहिरहने।
यस दिन विहानै सबैभन्दा पहिला आमालाई फोन गर्छु तर यी कुराहरू निकाल्दिन।आमाले पनि मनमनमा बुझे पनि अरू कुरामै कुरा टुङ्याउनु हुन्छ।स्मृतिका पानाहरूमा आफ्नो आफ्नोतर्फबाट सम्झिनु त छँदैछ।मौन रहेर कुरा ननिकाल्नु पनि एक किसिमको सम्झना झैं लाग्ने रहेछ।
विहे पछिका दिनहरूमा एक पटक बाबुको मुख हेर्ने दिन पारेर पुग्छु भनेर पनि पुग्न नपाएका दिनहरू अहिलेसम्म खडकिन्छ।
संयोग पनि त्यस्तै भयो बुवाको तेह्र दिनको काम चलिरहदा बुबाको मुख हेर्ने दिन आयो।मेरो मन नमीठोसँग निचोरियो।मनले चाहेर पनि गर्न नसकिएका पुग्न नसकेको कुराले पछि सम्म पनि पछुतो र एक खालको मनलाई दिने पीडा खड्किरहने रहेछ।
त्यसैले विरामी भेट्ने र बुढा पाकाहरूलाई भेट्ने कुरा पछिलाई सार्नु हुन्न भन्ने बुझाई रह्यो ।अहिले सकेसम्म विरामी भेट्ने कुरा र बुढा पाकाहरूलाई दिने भेटहरूमा फुर्सदसँग सम्झौता गर्दिन र पुग्छु पनि।
बुबाहरू सबैका हुन्छन्। सबैका लागि आफ्नो बाबुको स्थान माथि नै हुन्छ । हाम्रो त बुवा पनि आमा हुनुहुन्थ्यो । आमासँग भन्न नसकेको कुराहरू बुवासँग खुलेर गर्थ्यौ। कुनै दिन झर्को फर्को र एक थप्पड कस्तो हुन्छ ??चाख्न पनि नपाउने भाग्यमानी सन्तान हामी!
त्यो काख आमाको जस्तै न्यानो थियो ।प्यारो थियो।सबै सन्तानका लागि।छ वटी छोरी र एऊटा छोरा ! कुनै वेला पनि हामी छोरी हौ भनेर फिल गर्ने मौका दिनु भएन।सधै त्यो काख सबै सन्तानको लागि बराबर ।ऋण लागोस् पैसा होस् नहोस् तर पनि आफ्नो सन्तानको लागि मरिमेट्ने। हरेक रहर पुर्याउने महान बुवा!जसलाई दिने शब्द मसँग कति नै होला र! फेरि पनि जन्मिन पाएछु या पूनर्जन्म भन्ने पनि रहेछ भने जति पटक जन्महुन्छ त्यहि बुवा पाउँ.......!
...आज भदौ चार गते स्वर्गीय बुवा श्री दधिराम उपाध्याय प्रति समर्पित ।
- गीता आचार्य