झापा २३ माघ / बसन्त राज सुब्बा
ताप्लेजुङ स्थित मुक्कुमलुङ पाथीभरामा निर्माणधिन केवलकार खारेजी आन्दोलनको क्रममा पक्राउ भएका ६ जना योद्धाहरू रिहाई भएका छन ।
मंगलबार साँझ सरकारसँग आन्दोलन पक्षको सहजीकरण समितिसँगको ६ बुँदे सहमति अनुसार पक्राउ परेकाहरु छुटेका हुन् ।
धरानस्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएका ६ जना सुमन चेम्जोङ, योगेन्द्र तामाङ, दिवस राई, सन्दिप लिम्बु, शशी घले र किसन राई रहेका छन् उनीहरुलाई मंगलबार राती ११ बजे विनासर्त रिहाई गरिएको पहिचानवादी नेता जेन्टल लावतीले बताए ।
यसैगरी झापाको दमक माघ २० र २१ गतेको आन्दोलनमा प्रहरीले पक्राउ गरेका पदक वेघा, धनकुमार योङहाङ, शुक्र लिम्बु, आदित्य फियाक, प्रकाश लाबुङ, सन्देश लिम्बु, नाम्साङ लिम्बु र सञ्जय ताजपुरीया आन्दोलनकारीलाई
ईलाका प्रहरी कार्यालय दमकले आज माघ २३ गते (बुधवार) रिहाई गरेको हो । रिहाई गरिएका उनीहरुलाई बिभिन्न पार्टी र संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले स्वागत तथा सम्मान गरेका थिए।
उनीहरुलाई संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रिय अध्यक्ष कुमार लिङ्देन, प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समितिका केन्द्रिय अध्यक्ष डकेन्द्र सिंह थेगिम, किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष शेशेहाङ्ग फ्याक लिम्बु, प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका झापा जिल्ला संयोजक एवं आदिवासी जनजाति महासंघका झापा जिल्ला अध्यक्ष पाण्डव लाल चौधरी,किरात याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ लगायत ५०÷६० जनाको समुहले अविर र खादा लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।
उनीहरुले ईलाका प्रहरी कार्यालय अगाडी विभिन्न नाराहरू लगाएर उनीहरुलाई स्वागत सम्मान गरेका छन् । मुक्कुमलुङ गोलीकाण्ड दोषीलाई कारबाही गर, केवल कार बन्द गर, केवलकार निर्माण समूह मुर्दाबाट, केवलकार चाहिदैन, गोलि हान्न पाइदैन, गोलीकाण्डको न्यायिक छानबिन गर, सिडिओ र मेयरलाई कारबाही गर, गोलि हान्ने ओली सरकार मुर्दाबाट, केवलकार खलनायक चन्द्र ढकाल मुर्दाबाट , मुक्कुमलुङमा सशस्त्र क्याम्प हटाउनै पर्छ, कोशी नाम खारेज गर, लिम्बुवान भोलेन्टियर जिन्दाबाद, मुक्कुमलुङ आन्दोलन जारी छ, लिम्बुवान भोलेन्टियर पछि हट्दैन, लिम्बुवान शहिदहरु अमर रहुन लगायका नारा लगाएका थिए ।
नेता कुमार लिङ्देनले आन्दोलनलाई साथ दिने प्रदेशका १४ जिल्लाका नेपाली कांगेसका सभापतिहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी, दमक नगरपालिकाका मेयर राम कुमार थापा लगायत विभिन्न संघ संस्थाहरूलाई धेरै धेरै धन्यवाद दिएका छन् ।
यसैगरी ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयले माघ १२ गते नियन्त्रणमा लिएका प्रदिप मादेन, चन्द्र सागर लिम्बु र लक्ष्मण इधिङ्गो लिम्बु जिल्ला अदालतमा कागजी प्रक्रिया भई रिहाई भएको पहिचानवादी महिला नेत्री रीता मादेनले वताइन् ।
मुक्कुमलुङ संरक्षण आन्दोलनको क्रममा जम्मा १७ जना गिरफतार भएका थिए । त्यसैगरी पाँच जना घाइते शक्त घाइते मध्ये दुई जना उपचार पछि घर फर्किएका छन् भने तीन जनाको काठमाडौं टिचिङ अस्पतालमा उपचार हुने क्रममा रहेको छ । तिघ्रामा गोली लागेका याम लिम्बु अझै पनि डिस्चार्ज भएका छैनन् भने छातीमा गोली लागेका सगुन लावती र देब्रे कुम भाँचिएका धर्मान पालुङ्वालाई डिस्चार्ज गरेर हस्पिटलको नजिकै फ्लोअपको लागि राखिएको महिला नेत्री सरु सिंगकले वताइन् । उनीहरुको उपचारमा अझै केही समय लाग्ने उनले वताइन् ।
मुक्कुमलुङ ताङ्सेःप चुम्भोमा विभिन्न जातीय संघ संस्थाहरु जोडिएर आन्दोलनरत छन् भने मुक्कुमलुङ संरक्षण अन्तर दलीय संघर्ष समिति मार्फत विभिन्न १० भन्दा धेरै पहिचान जन्य राजनैतिक दलहरु मिलेर मुक्कुमलुङमा केवलकार खारेजी आन्दोलनमा उत्रिएका छन् ।
मंगलबार दोस्रो चरणको सहजीकरण वार्तामा ६ बुँदे सहमति भए सँगै पूर्वको नौ जिल्ला यातायात बन्द आजबाट स्थगन भएको छ भने सरकारले केवलकार निर्माण कार्यलाई अर्को वार्ता सम्मको लागि स्थगित गरेको छ ।
आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ललितपुरको एक होटलमा भएको वार्तामा पाथीभरा केबलकारको स्टेसन माथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ ।
यसैगरि सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने सहमति भएको छ ।