गलकोट नगरपालिकाको प्रशासकीय भवनको जग्गा जोहो गर्न स्थानीयवासीले झण्डै रु ७७ लाखसहयोग गरेका छन् । वडा नं ६ को विशेष पहलमा सङ्कलित रु ७६ लाख ९८ हजार नगरपालिकालाई हस्तान्तरण गरिएको वडाध्यक्ष एवं जग्गा व्यवस्थापन समितिका सदस्य नरबहादुर खत्रीले बताउनुभयो । सोही वडामा पर्ने मजुवा फाँटमा नगरको प्रशासकीय भवन बन्दैछ । यसअघि छ रोपनी जग्गा नगरपालिकाले आफ्नै बजेटबाट किनेको थियो । एक रोपनी १२ आना जग्गादाताले निःशुल्क दिएका थिए ।
यसबाहेकको जग्गा खरिदका लागि स्थानीयवासीबाट स्वेच्छिक रुपमा आर्थिक सहयोग जुटाउन सहयोग अभियान चलाइएको हो । “वडावासीदेखि देश विदेशमा रहनुभएका शुभेच्छुक र सहयोगीबाट सो रकम जुटेको हो”, उहाँले भन्नुभयो, “मजुवा फाँटमा प्रशासकीय भवन बनाउने निर्णय हुँदा वडाको तर्फबाट रु एक करोड जुटाउने प्रतिबद्धता हामीले गरेका थियौँ, रकम अझै सङ्कलन हुँदैछ ।”
आफ्नो ठाउँमा नगरको केन्द्र बन्ने भएपछि वडाले चलाएको अभियानमा स्थानीयवासी स्वतःस्फूर्तरुपमा जोडिएका हुन्् । एकै परिवारले रु १० लाखसम्म सहयोग गरेको वडाध्यक्ष खत्रीले बताउनुभयो । उहाँ आफैँले पनि चार आना जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । यस्तै नन्दलाल गैरेले चार आना, खगराज गैरेले चार आना, इन्द्रमणि गैरेले चार आना, मेघराज रेग्मीले तीन आना, रामप्रसाद कँडेलले दुई आना, यमबहादुर थापाले दुई आना, नन्दकली बुढाथोकीले एक आना र रुद्रबहादुर खत्रीले डेढ आना जग्गा निःशुल्क दिनुभएको छ ।
दुई वर्षदेखिको प्रयासपछि नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गाको जोहो भएको हो । हाल भाडाको घरबाट सञ्चालित नगरपालिका आउँदो दुई वर्षभित्रैमा आफ्नै भवनबाट चल्नेछ । सुविधायुक्त प्रशासकीय भवन निर्माणका लागि ठेक्का प्रकृया सुरु भएको गनरपालिकाले जनाएको छ ।
भवनका लागि रु २७ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको नगर उपप्रमुख रेणुका काउचाले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गा खरिदमा मात्रै नगरपालिकाले रु दुई करोड ४५ लाख खर्च गरेको छ । जग्गाधनीले केही निःशुल्क नदिएका भए र स्थानीयवासीबाट आर्थिक सहयोग नजुटेका भए जग्गामै नगरपालिकालाई ठूलो व्ययभार पथ्र्यो ।
नगर उपप्रमुख काउचाले सार्वजनिक जग्गाको अभाव रहेको गलकोटमा स्थानीयवासीले सस्तो मूल्यमा जग्गा उपलब्ध गराएर सम्मानयोग्य कार्य गरेको उल्लेख गर्नुभयो । जग्गा व्यवस्थापनको मुख्य चुनौती पार भएकाले अब भवन निर्माणले गति लिने उहाँको भनाइ छ । रासस