मुग्लानी खबर कार्तिक ९
सल्यानमा भैसी सुत्केरी हुँदा भत्ता पाइने भएको छ । कुमाख गाउँपालिकाले किसानहरुका भैसी सुत्केरी भएमा किसानहरुलाई भत्ता वितरण गर्ने जनाएको छ ।
गाउँमा भैसी पालन व्यवसाय छाड्दै भएका भैसी पनि मासुका लागि शहरतिर निर्यात भैरहेका बेला भैसीपालन व्यवसायलाई प्रवर्द्धन गर्ने उदेश्यसहित भैसी सुत्केरी भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकाले भैसीपालन व्यवसायतर्फ आकर्षण बढाइ कृषकहरुको आयस्रोत बृद्धि गर्ने उदेश्य राखेको छ । एउटा भैसी सुत्केरी हुँदा किसानहरुले प्रोत्साहन स्वरुप २५ सय रुपैयाँ पाउने गाउँपालिकाले जनाएको छ ।
किसानहरुले घरमा पालिएको भैसी र भैसीले जन्माएको पाडोको फोटो सहित वडाको सिफारिस र नागरिकताको प्रतिलिपी पेस गरेमा गाउँपालिकाले रकम प्रदान गर्ने गाउँपालिका अध्यक्ष दिलमाया बुढाले जानकारी दिइन् ।
उनले भनिन, ‘गाउँपालिकामा व्यवसायीक रुपमा भैसीपालन गर्नेलाई उचित रकम प्रदान गरेर सहयोग गरिनेछ । यदि कोही किसानले त्यो सोच गराएर प्रस्तावना सहित व्यवसायीक योजना लिएर आएमा सहयोग हुनेछ ।’
पशुपालन तथा कृषिका हिसावले सल्यानको कुमाख गाउँपालिका उत्तम मानिन्छ तर बजारको अभावमा त्यहाँका किसानहरु अझै व्यवसायीक बन्न सकेका छैनन् । सदरमुकामबाट टाढा रहेको कुमाखमा स्थानीय सरकार बनेपछि अन्य पूर्वाधार पनि बन्ने काम तीव्र रुपमा विकास भएकाले स्थानियवासीले राहत महसुस गर्न थालेका छन् ।
पछिल्लो समय भैसीपालन व्यवसाय संकटमा पर्दै गएको र दूधको उत्पादनमा कमी आएको भन्दै भैसीपालन व्यवसायमा किसानको आकर्षण बढाउन भैसीलाई सुत्केरी भत्ता वितरण गर्ने भएको गाउँपालिकाले जनाएको छ ।