नारायणी रजौरे : गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा परी आठ जना गम्भीर घाइते भए भने मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ का एकै गाउँका थिए ।
त्यसैगरी गत असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा ३ प २९१२ नंको मोटरसाइकलले घोराही उपमहानगरपालिका–७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दिँदा साइकल चालक सोही ठाउँका १६ वर्षीय रितेष केसी र मोटरसाइकलमा सवार घोरही–७ कै ४४ वर्षीय गङ्गा कुँवरको घटनास्थलमा मृत्यु भयो । मोटरसाइकल चालक र अन्य दुई जना साइकल गम्भीर घाइते भए । यी दुईवटै दुर्घटना प्रहरीको गहन अनुसन्धानले जीप दुर्घटनाको मुख्य कारण यान्त्रिक गढबढी र चालकको कमजोरी बतायो भने मोटरसाइकलले ठक्कर दिनुका कारण मापसे गरी तीव्रगति सवारी चलाउनु नै रहेको दाङ ट्राफिक प्रहरीको एक अनुसन्धानले जनाएको छ । वास्तवमा यी त उदाहरण मात्र हुन् ।
जिल्लामा हुने सवारी दुर्घटनाका कारण यतिखेर नागरिकले अकालमै ज्यान गुमाउन पुगेका छन् । यसैबीच यस आर्थिक वर्षको साउनदेखि माघको १८ गतेसम्म साढे छ महिनाको जिल्लामा ६५ सवारी दुर्घटनामा २५ जनाको अकालमै मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी हवल्दार काशीनाथ चौधरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती दुर्घटनामा परी ४८ जना गम्भीर घाइते भएका छन् । ती दुर्घटनामा ८१ वटा सवारीसाधन संलग्न रहेका छन् । जसमा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ४१ वटा, बस सात, ट्र्याक्टर सात जीप तथा कार चार रहेका छन् । त्यस्तै टेम्पो तथा अटोरिक्सा सात, ट्रक चार, टिपर दुई, माइक्रोबस चार, साइकल पाँच, डोजर एक वटा अन्य रहेका छन् ।
गएको आर्थिक वर्ष २०७८÷८९ मा दाङमा दुई सय तीन वटा सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ । आगामी दिनमा सवारी दुर्घटना न्यूनीकरण गर्नेका लागि ट्राफिक प्रहरीले नागरिकसँग समन्वय गरी दुर्घटना न्यूनीकरण गर्नेका लागि चोसो दिन थालेका छन् । सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गदै आएका छन् । यहाँका सचेतनामूलक कार्यक्रमलाई तीव्र पारिनेसमेत बताउनुभयो ।