प्रदेश नं ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिइने बताउनुभएको छ । बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गरिएको तयारी तथा बाँकेको खजुरास्थित कोरोना विशेष अस्पताल सञ्चालन अवस्थाको जानकारी लिँदै भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले कोरोना भाइरस सङ्क्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो ।
उहाँले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रदेशका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री र उपकरणसहितको सेवा सुविधा प्रदान गर्न लागिएको जानकारी दिँदै न्यूनतम आवश्यक सामग्री अभाव हुन नदिन प्रदेश सरकार सजग छ भन्नुभयो ।
मन्त्री चौधरीका अनुसार खजुरामा तयार भएको कोरोना विशेष अस्पताल सञ्चालनका लागि आवश्यक सामग्री प्रदेश सरकारले उपलब्ध गराउने छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं ५ सरकारको निर्णयानुसार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा तयार गरिएको कोरोना अस्पतालमा ६ शय्याको सघन उपचार कक्ष, तीन शय्यामा भेन्टिलेटर र साधारण ४० शय्या रहने छन् ।
खजुरा गाउँपालिका अध्यक्ष एवम् कोरोना अस्पताल आवास, भोजन तथा यातायात व्यवस्थापन समितिका संयोजक किस्मतकुमार कक्षपतिले अस्पताल सञ्चालनका लागि थप स्वास्थ्य सामग्री, औजार, उपकरण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि आवश्यक रकम सामाजिक विकास मन्त्रालयसँग माग गर्ने निर्णय गरिएको बताउनुभयो ।
आइसोलेशनमा रहने बिरामी र उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि बास, खाना तथा यातायात, अस्पताल सञ्चालन प्रशासनिक खर्च, जेनेरेटर, व्यक्तिगत सुरक्षा कवच (पिपिइ)लगायत विविध खर्चका लागि माग गरिने उहाँको भनाइ थियो । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको तयारी र अवस्थाबारे प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहले मन्त्री चौधरीलाई जानकारी दिनुभएको थियो । रासस