दुबई, यूएई — संखुवासभा समाज, यूएईको सातौँ वार्षिक साधारणसभाबाट सन् २०२६–२०२८ कार्यकालका लागि वीरबहादुर भुर्तेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। दुबईको बर दुबईस्थित किङ स्टार रेस्टुरेन्ट एन्ड बारको सभाहलमा अक्टोबर ११, २०२६ मा सम्पन्न सभाले भुर्तेललाई नेतृत्व हस्तान्तरण गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा काजी गुरुङ, महासचिवमा तीर्थ बस्नेत, सचिवमा सोनाम गुरुङ, सहसचिवमा रवीन्द्र गुरुङ, कोषाध्यक्षमा प्रेम गुरुङ र सहकोषाध्यक्षमा गोविन्द राना मगर चयन हुनुभएको छ। यस्तै कार्यसमिति सदस्यहरूमा लोकमणि गुरुङ, निमा गिरी गुरुङ, सुन्दर तामाङ, नगेन्द्र बस्नेत, उमेश तामाङ र तारावीर गुरुङ रहनुभएको छ।
प्रवासमा विभिन्न समस्यामा परेका नेपालीहरूलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले समाजले 'मानवीय उद्धार तथा राहत कोष समिति' समेत गठन गरेको छ। उक्त समितिको संयोजकमा नरिता राई र सदस्यमा गणेश महतारा चयन हुनुभएको छ।
यसैगरी, रमेशकुमार गुरुङको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ, जसको सदस्यहरूमा दिपेश राई र कुमार मगर रहनुभएको छ।
साधारणसभाकै अवसरमा समाजमा नौ जना नयाँ सदस्यहरू आबद्ध हुनुभएको छ। जसमा पदम सिम्खडा, विश्वास श्रेष्ठ, खेमराज गुरुङ, अर्जुन कटुवाल, लीलामणि जिमी, सुन्दर भण्डारी, सरिता गुरुङ, सबिन कोइराला र सुजन न्यौपाने हुनुहुन्छ। नयाँ सदस्यहरूको आगमनले समाजको सदस्यता विस्तार हुनुका साथै सामाजिक गतिविधि र आपसी सहकार्य थप सुदृढ हुने विश्वास लिइएको छ।
सन् २००५ मा स्थापित यो समाज सन् २०१५ सम्म निष्क्रिय प्रायः रहे पनि यूएईमा रहेका संखुवासभालीहरूको पहलमा सन् २०१६ मा पुनर्गठन गरिएको थियो। तत्पश्चात् सन् २०१८ देखि निरन्तर सक्रिय रहेको समाजले हरेक दुई वर्षमा साधारणसभामार्फत नेतृत्व चयन गर्दै आएको छ।
नवनिर्वाचित अध्यक्ष भुर्तेलको नेतृत्वमा प्रवासमा रहेका संखुवासभाली नेपालीहरूको हकहित संरक्षण, एकता, भाइचारा, मेलमिलाप र मानवीय सहायताका कार्यहरूलाई थप व्यवस्थित र प्रभावकारी ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाइएको छ।
उक्त साधारणसभाको सञ्चालन सल्लाहकार रमेशकुमार गुरुङ, महासचिव तीर्थ बस्नेत र सचिव सोनाम गुरुङले संयुक्त रूपमा गर्नुभएको थियो।