कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् ।
मोबाइलमा कुरा गर्न उनीहरुलाई घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ । मोबाइलको नेटवर्कसँगै इन्टरनेटसमेत नचल्दा वडा कार्यालयका कामकारवाहीसमेत प्रभावित हुँदै आएका छन् । “कार्यालय कक्षभित्र मोबाइलको नेटवर्कले टिप्दैन”, वडासचिव चन्द्र चौधरीले भन्नुभयो, “मोबाइलमा अत्यन्त जरुरी कुराकानी गर्नकै लागि कार्यालयभन्दा टाढा पुग्नु पर्दछ । मोबाइल नेटवर्कले काम नगरे इन्टरनेट चल्ने कुरै छैन ।”
वडामा भएका महत्वपूर्ण निर्णय नगरपालिकामा इमेलमार्फत पठाउन टाढाको गाउँमा पुगेर निजी खर्चमै मोबाइलको हस्पटबाट इन्टरनेट चलाएर पठाउँदै आएको उहाँले बताउनुभयो । नगरपालिकाले पठाएका तत्कालै पाउनुपर्ने सूचनासमेत इन्टरनेट र मोबाइल नेटवर्क नहुँदा पाउन निकै गाह्रो भएको उहाँको भनाइ छ । “वायरलेस सिस्टमको इन्टरनेट वडा कार्यालयमा गत वर्ष जोडेका थियौँ”, वडा सदस्य लालबहादुर महराले भन्नुभयो, “काम नै नगरेपछि बन्द अवस्थामा रहेको छ ।” आधुनिक युगमा समेत इन्टरनेट र मोबाइल सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै उहाँले सम्बन्धित निकायलाई तत्काल मोबाइल टावरको व्यवस्था गर्न आग्रहसमेत गरिएको बताउनुभयो ।
नेपाल टेलिकमको नेटवर्कले टिप्दैन सोही वडाका स्थानीय बेलडाँडीका सुरतबहादुर साउदले भन्नुभयो, “एनसेललगायतका अन्य निजी कम्पनीका मोबाइल कम्पनीका नेटवर्टकले कहिले टिप्ने कहिले नटिप्ने गर्दछ । फोन नलाग्ने गरेकै कारण निकै सास्ती खेप्नुपरेको छ ।”
बेलडाँडी, पिल्लरी, पारिफाँटा दोमिल्ला, पहरिया र निगालीलगायतका स्थानीवासीलाई मोबाइल नेटवर्कले काम नगर्ने भएपछि महत्वपूर्ण सूचनाआदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ ।
नेपाल टेलिकमले सुन्दरीफाँटामा टावर बनाउन थालेको झण्डै एक वर्ष नै हुन आँटे पनि टावर निर्माणको कार्य पूरा हुनसकेको छैन । सो टावर निर्माण भएपछि मोबाइल सेवा सञ्चालन हुनेमा आशावादी भए पनि निर्माण कहिले पूरा हुने भने टुङ्गो छैन । “मोबाइल सेवा सहजरूपमा कहिलेदेखि सञ्चालन होला भन्ने बाटो कुरेर बसेका छौँ”, रामबहादुर साउदले भन्नुभयो, “मोबाइल राम्ररी टिप्ने भए हुन्थ्यो । इन्टरनेट सेवाको कल्पनासमेत अहिले गरेका छैनौँ ।”
सबैका घरघरमा मोबाइल सेट छन् । फोन गर्नकै लागि टाढाको कलुवापुर र अमरपुरलगायत क्षेत्रमा पुगेर फोन गर्नुपर्ने स्थानीय बासिन्दालाई बाध्यता छ । पाँच गाउँका झण्डै दुई हजार बढी बासिन्दासम्म सञ्चार सेवा पुग्न सकेको छैन ।
असुरक्षित पानी पिउन बाध्य
शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको पारिफाँटामा स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य छन् ।
उनीहरु वर्षौदेखि आर्सेनिक र आइरनयुक्त ह्याण्डपम्पको पानी पिउँदै आएका छन् । खानेपानीका लागि अर्को विकल्प नहँुदा असुरक्षित पानी वर्षौँदेखि प्रयोग गर्दै आएको वडा सदस्य लालबहादुर महराले बताउनुभयो । “सेतो कपडा लगाउनै हुँदैन”, उहाँले भन्नुभयो, “ह्याण्डपम्पको पानीमा सेतो कपडा दुई÷तीनपटक धुँदा पूरै पहेँलो हुन्छ, भाँडाकुडासमेत पहेँलो हुने गरेको छ ।”
ह्याण्डपम्पको पानी गन्हाउनेसमेत गरेको छ । अधिकांश बासिन्दाले तीन किलोमिटर टाढाको फुलेली गाउँको अटोजन बोरिङबाट खानेपानी बोकेर ल्याउने गरेका छन् । खानेपानीको अर्को विकल्प नहँुदा असुरक्षित पानी नै प्रयोगमा ल्याउने गरिएको स्थानीयवासी अकवर धामीले बताउनुभयो । “माथि सतहको पानी पिउन योग्य छैन”, उहाँले भन्नुभयो, “ आर्थिक अभावका कारण यहाँका बासिन्दालाई धेरै गहिरो ह्याण्डपम्प गाड्न सक्ने अवस्था छैन् ।”
गहिरो ह्याण्डपम्प गाड्नका लागि रु एक लाख बढी खर्च लाग्ने गर्दछ । अधिकांश बासिन्दाको आयस्तर न्यून रहेका कारणले सुरक्षित खानेपानीका लागि ह्याण्डपम्प गाड्न नसकेको स्थानीयवासीको भनाइ छ ।
“वडा कार्यालयमा गाडिएको ह्याण्डपम्पको पानी पिउन योग्य छैन”, वडा सचिव चन्द्र चौधरीले भन्नुभयो, “टाढाबाट बोकेर ल्याएको पानी पिउनका लागि प्रयोगमा ल्याउने गरेका छौँ । पानी बोकेर नल्याएको अवस्थमा पानी नपिएरै बस्नुपर्ने अवस्था छ ।”
“केही दिन जारको पानी पिउनका लागि प्रयोग ग¥यौँ । हाल वडा कार्यालयसँग पानी खरिद गर्ने बजेट नहँुदा स्वच्छ र स्वस्थ्य पानी पिउन पाएका छैनौँ”, उहाँले भन्नुभयो, “चालू आवमा वडा कार्यालय परिसरमा अटोजन नल्का गाड्नका लागि रु ७० हजार बजेट विनियोजन गरिएको छ । त्यसबाटै नल्का गाडेर कार्यालयका कर्मचारी र सेवाग्राहीलाई खानेपानी उपलब्ध गराउने योजना छ ।”
स्थानीयवासीले तत्काल खानेपानीको योजना अगाडि बढाउन माग गरेका छन् । पारिफाँटामा मात्रै ३०० बढी परिवारको बसोबास छ ।