शैक्षिक संस्थाको पाठ्यक्रममा रैथाने कृषिबालीको जैविक संरक्षणका विषय समावेश गराउन सांसदले माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सांसद सीताकुमारी राणाले रैथाने कृषि उत्पादनले मानव स्वास्थ्यलाई फाइदा पुग्ने भएकाले शैक्षिक पाठ्यक्रममा यस विषयलाई अनिवार्य समेट्नुपर्ने बताइन् । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयमा चामल, कोदो, आलुलगायतको रैथाने उत्पादनका परिकार खाजाको रूपमा व्यवस्था लागू गर्नुपर्नेमा उनले जोड दिइन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद शान्ति चौधरीले वर्षायाम सुरु हुन लागेकाले देशैभरका निर्माणाधीन सडक समयमा सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनको माग गरिन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद सुदन किरातीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसँगै विद्युत्मा समस्या देखिएकाले सरकाकरको ध्यानाकर्षण गराए ।
एमालेकी सांसद सुनिता बरालले भोलिदेखि सुरु हुने सगरमाथा संवादमा जलवायु परिवर्तन, जलवायु न्याय, दिगो विकास र समावेशी सहअस्त्विजस्ता महत्त्वपूर्ण विषयवस्तु समेटिएको बताइन् । यसले नेपाललाई विचार विमर्श र समस्या समाधानका केन्द्रको रूपमा चिनाउने अवसर प्रदान गरेको उनले बताइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले घोकन्ते विद्यालाई भन्दा व्यावहारिक विद्यालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।
कांग्रेसका सांसद सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं २ अन्तर्गत सदरमुकाम तौलिहवाका विभिन्न स्थानमा सडक जीर्ण रहेकाले त्यहाँका स्थानीयवासीले वर्षौँदेखि कष्ट भोगिरहेको बताए । यस विषयमा सरकारले ध्यान दिनुपर्ने उनको माग थियो ।
कांग्रेसकी सांसद सुशीला थिङले सरकारले विवाहित र अविवाहितलाई करमा विभेद गर्नु नहुने बताइन् ।