काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।
नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले सरकारले पछिल्लो समय गरेका केही निर्णय र देशमा भएका घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताए । उनले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारे ।
सरकारलाई जवाफदेही बनाउनु र लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यताको संरक्षण गर्नु प्रतिपक्षको दायित्व भएको उल्लेख गर्दै उनले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
‘सरकारले गरेका पछिल्ला निर्णय र देशमा घटेका घटनाले गम्भीर प्रश्न जन्माएका छन् । लोकतन्त्र, नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रताको विषयमा सरकारले सीमा नाघ्छ भने नेपाली कांग्रेस चुप लागेर बस्दैन । हामी सरकारलाई जवाफदेही बनाउन र लोकतान्त्रिक मूल्य तथा मान्यताको संरक्षणका लागि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ,’ थापाले भने ।
पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन, परिणाम चाहिन्छ
सभापति थापाले सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए । उनले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाले मुलुकमा शाही शासनकालमा सञ्चारमाध्यममाथि गरिएको हस्तक्षेपको स्मरण गराएको टिप्पणी गरे ।
उनका अनुसार सञ्चारमाध्यममा प्रहरी परिचालन र पत्रकार पक्राउको घटनाले प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको छ । त्यसमा प्रहरीका तर्फबाट आएका फरक–फरक वक्तव्य र प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक गरिएका धारणाले झन् अन्योल सिर्जना गरेको उनको भनाइ थियो ।
थापाले घटनालाई सामान्य वक्तव्य जारी गरेर टुंग्याउन नहुने भन्दै त्यसको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरे । पत्रकार पक्राउ गर्न कसले आदेश दिएको थियो, कुन कानुनका आधारमा पक्राउ गरिएको थियो र त्यसमा को जिम्मेवार छ भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए