करिम बक्स मिया
दोहा, कतार। कतारको राजधानी दोहास्थित दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर (DECC) मा आज अक्टोबर २० देखि २२ सम्म १६औँ संस्करणको ‘मिलिपोल कतार २०२६’ अन्तर्राष्ट्रिय सुरक्षा प्रदर्शनी आयोजना हुँदैछ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको संरक्षणमा कतारको आन्तरिक मन्त्रालयद्वारा आयोजित प्रदर्शनीमा विश्वभरका उच्च सुरक्षा अधिकारी, विशेषज्ञ तथा सुरक्षा क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।
आयोजकका अनुसार प्रदर्शनीमा २७० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी र सातवटा अन्तर्राष्ट्रिय प्याभिलियन सहभागी हुनेछन्। २३ हजार वर्गमिटर क्षेत्रफलमा फैलिने प्रदर्शनीमा सुरक्षा प्रविधि तथा समाधानका नवीनतम उपलब्धि प्रस्तुत गरिनेछ। साथै, कतारको आन्तरिक मन्त्रालयका सवारीसाधन प्रदर्शनका लागि बाहिरी क्षेत्रसमेत छुट्याइएको छ।
मिलिपोल कतार समितिका अध्यक्ष मेजर जनरल नासेर बिन फहद अल थानीले प्रदर्शनीका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार यसले सुरक्षा प्रविधिको आदानप्रदान, अन्तर्राष्ट्रिय सहकार्य विस्तार र विशेषज्ञताका अनुभव साझा गर्ने अवसर प्रदान गर्नेछ।
प्रदर्शनीसँगै दोहा अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) तथा सुरक्षा सम्मेलन पनि आयोजना हुनेछ, जहाँ विभिन्न क्षेत्रका उच्चस्तरीय नेतृत्वकर्ता र विशेषज्ञहरू सहभागी हुनेछन्।
मिलिपोल नेटवर्कका निर्देशक करेन गाल्स्ट्यानका अनुसार सन् १९९६ मा स्थापना भएको मिलिपोल कतार फ्रान्सबाहिर आयोजना गरिएको मिलिपोल शृङ्खलाको पहिलो प्रदर्शनी हो। यस वर्ष पहिलोपटक ३०औँ वार्षिकोत्सव पुरस्कारसमेत प्रदान गरिनेछ। प्रदर्शनीमा विगत तीन दशकदेखि निरन्तर सहभागी हुँदै आएका कम्पनीहरूलाई सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरिएको हो।