प्रमिला कार्की,नेपाल न्यूज बैंक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सहभागी प्राय सबैजसो फ्रेन्चाइज (टोली)मा विदेशी खेलाडीसँगै विदेशी प्रशिक्षकको उपस्थिति पनि बलियो देखिएको छ ।
प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइज टोलीमध्ये ६ वटा टोलीका मुख्य प्रशिक्षक नै विदेशी प्रशिक्षक छन् । साथै सबै टोलीमा कुनै न कुनै प्रशिक्षकका रुपमा विदेशीले भूमिका निर्वाह गरिरहेका छन् ।
आफ्नो टिमलाई बलियो बनाउन विदेशी प्रशिक्षक, सल्लाहकार तथा मेन्टरलाई जिम्मेवारी दिने गरिएको हो ।
विश्व क्रिकेटमा अनुभव हासिल गरेका प्रशिक्षक तथा पूर्वखेलाडीलाई टोलीमा भित्र्याउने फ्रेन्चाइजहरूको प्रतिस्पर्धाले एनपीएलमा अन्तर्राष्ट्रिय अनुभव र व्यावसायिक प्रशिक्षणको प्रभाव बढाएको छ।
एनपीएलका अधिकांश फ्रेन्चाइजले मुख्य प्रशिक्षकदेखि प्राविधिक तथा रणनीतिक भूमिकासम्म विदेशी अनुहारलाई प्राथमिकता दिएका छन् ।
आठ फ्रेन्चाइजमध्ये जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पूर्वकप्तान तथा अनुभवी ब्याटर शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव हासिल गरेका चन्द्रपालको उपस्थितिले जनकपुरको ब्याटिङ रणनीति र खेलाडीको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
जनकपुरले नेपाली प्रशिक्षक मनोज कटुवाललाई सहायक प्रशिक्षकका रूपमा समेटेको छ । त्यस्तै, श्रीलंकाली प्रशिक्षक पुवुदु दासानायके उच्च प्रदर्शन प्रशिक्षकका रूपमा आबद्ध छन् ।
काठमाडौं गोर्खाजले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षक बनाएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग पनि काम गरिसकेका देसाईसँग अन्तर्राष्ट्रिय क्रिकेट प्रशिक्षणको अनुभव छ। काठमाडौंले नेपाली प्रशिक्षक बसन्त शाही ठकुरीलाई सहायक प्रशिक्षक तथा प्रकाश शर्मालाई प्राविधिक सहयोगको जिम्मेवारी दिएको छ ।
त्यसैगरी,लुम्बिनी लायन्सले भारतका टिनु योहाननलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटरसमेत रहेका योहाननसँग खेलाडी विकास र प्रशिक्षणको अनुभव छ।