दोहा, कतार — 'प्रकृति, संस्कृति र प्रविधिको सन्तुलन, परिष्कृत समाजका लागि श्रम अभियान' भन्ने मूल नारा र 'प्रकृति, संस्कृति र प्रविधिको अन्तरसम्बन्ध नै जीवन हो (हर्कवाद)' भन्ने सोचलाई आत्मसात् गर्दै श्रम संस्कृति महा-अभियान कतारको प्रथम स्थापना दिवस दीप प्रज्ज्वलन, ब्यानर अनावरण र बिरुवामा पानी हालेर भव्य रूपमा उद्घाटन गरिएको छ।
श्रम संस्कृति महा-अभियान कतारको प्रथम स्थापना दिवस तथा नेपालीहरूको महान् चाडपर्वको अवसरमा शुभकामना आदान-प्रदान एवं बृहत् सांस्कृतिक कार्यक्रम-२०२६ भव्य रूपमा सम्पन्न भएको छ।
कतारको सनैयास्थित प्लाजा मलमा रहेको मेसक्याफे (Messcafe) रेस्टुरेन्टमा मध्याह्न ठिक १२ बजेदेखि सुरु भएको सो कार्यक्रममा दीप प्रज्ज्वलन, ब्यानर अनावरणका साथै बिरुवामा पानी हालेर नौलो र प्राकृतिक शैलीमा उद्घाटन गरिएको थियो।
श्रम संस्कृति महा-अभियान कतारका अध्यक्ष शुक्र कुमार राई (सुवास) को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रमुख सल्लाहकार गजेन्द्र राई रहनुभएको थियो। कार्यक्रममा महा-अभियान कतारकी तृतीय उपाध्यक्ष विश्वकला राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रगति प्रतिवेदन महिला सचिव शर्मिला राईले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको उद्देश्यमाथि प्रथम उपाध्यक्ष भीम एक्छाई मगरले प्रकाश पार्नुभएको थियो। उहाँले प्रकृति, संस्कृति र प्रविधिको अन्तरसम्बन्धन नै जीवन भएको 'हर्कवाद' को अवधारणाबारे आफ्ना विचार व्यक्त गर्नुभएको थियो। ललिता पुलामी मगर र जुना पुलामी मगरले स्वागत नृत्यमार्फत अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। सोही अवसरमा नेपालबाट प्राप्त महा-अभियानको आधिकारिक सदस्यता समेत औपचारिक रूपमा वितरण गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले श्रम संस्कृति महा-अभियान कतारको प्रथम स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै श्रम संस्कृति पार्टी देशको उदाउँदो वैकल्पिक शक्ति रहेको बताए। वक्ताहरूले यस पार्टीले श्रम, मजदुर तथा उत्पीडित वर्गको पक्षमा आवाज उठाउँदै देशको मुहार फेर्ने अभियानमा महत्त्वपूर्ण योगदान दिइरहेको चर्चा गरे। साथै, देशमा उत्पादन वृद्धि, रोजगारी सिर्जना र राजनीतिक विकृतिको अन्त्यका लागि जोड दिँदै प्रवासमा रहेर पनि नेपाली श्रम, कला, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
सांस्कृतिक वातावरणमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहेको थियो। विक्रम सम्पाङ राईको सांस्कृतिक संयोजन र अन्मिन खालिद राईको नृत्य निर्देशनमा कलाकारहरू गौतम लिम्बू, एन्जल राई, सरला तामाङ, मोहिमा राई, दीपेश पायल राई र मोनिश लिम्बू लगायतका कलाकारहरूले गायन प्रस्तुति दिएका थिए। त्यसैगरी, जुना पुलामी मगर, हेमु तामाङ, अञ्जली तामाङ, समीर लुम्बा याक्खा, जीवन राई, शोनि राई, एन्जल राई र छिशल तामाङलगायतका नृत्यकारहरूले आकर्षक नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिलाएका थिए।
कतारमा स्थापित विभिन्न वैचारिक, प्रदेश तथा जिल्ला संघ-संस्थाका प्रतिनिधिहरू, पत्रकार, बुद्धिजीवी एवं ठूलो संख्यामा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण महासचिव एकराज राईले गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष शुक्र कुमार राई (सुवास) ले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै स्थापना दिवस तथा शुभकामना आदान-प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको घोषणा गर्नुभएको थियो।
