
– नारायण अधिकारी
यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाको नेतृत्व महिलाले गर्नुभएको छ ।
ती निकायका प्रमुखमा क्रमशः रेनु दाहाल, प्रभा बराल र गीता गुरुङ हुनुहुन्छ । दाहाल तत्कालीन नेकपा (माओवादी) केन्द्र, बराल नेकपा एमाले र गुरुङ नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको हो ।
‘पुरुषले भन्दा महिलाले हरेक क्षेत्रमा उदाहरणीय काम गर्न सक्छन्’ भन्ने उदाहरण यहाँका ती जनप्रतिनिधिले प्रस्तुत गरिरहनुभएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिनासाथ भरतपुर महानगरपालिका प्रमुख दाहालको नेतृत्वमा कोरोना उपचारका लागि ७२ घण्टाभित्र अस्थायी अस्पताल निर्माण भयो ।
राजधानी काठमाडौँ र धादिङबाट घर जान आएका मजदूरलाई गाडी रोकेर आ–आफ््नो गन्तव्य पठाउने इच्छाकामनाका प्रमुख गुरुङ अहिले चर्चाको शिखरमा हुनुहुन्छ । जिल्लाभित्र पहिलोपटक कोरोना भाइरसको सङ्क्रमण देखिएको राप्ती नगरपालिकाका प्रमुख बरालको व्यवस्थापकीय क्षमता उदाहरणीय बनेको छ ।
भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी दाहालको नेतृत्वमा अहिले भइरहेका कार्य अन्य स्थानीय तहको भन्दा कम नरहेको बताउनुहुन्छ । दाहालकै अग्रसरतामा भरतपुर कोभिड–१९ प्रयोगशाला सञ्चालनमा अएको छ । जिल्लाका तीन ठाउँमा क्वारेन्टाइन सञ्चालन गरिँदैछ । अस्पतालका कर्मचारीका लागि स्थानीय होटलमा क्वारेन्टाइन सञ्चालन गरिँदै आइएको छ । महानगरभित्रका १६ हजार १६३ परिवारले पहिलो चरणमा राहत पाइसकेका छन् । नपुगेकालाई मागका लागि फारम वडा कार्यालय पठाइएको अधिकृत जोशीको भनाइ छ । महानगरसँगै सहकार्य गरेर बाटोमा हिँड्ने मजदुर र खानबाट बञ्चित भएकाहरुलाई खाना खुवाउने काम भइरहेको छ ।
महानगरपालिका प्रमुख दाहालको यतिबेलाको दैनिकी कोरोनाको जोखिम हुन नदिन नै केन्द्रित हुने गरेको छ । उहाँ महानगरभित्र रोग भित्रिन नपाओस् र कोही भोकै बस्न नपरोस् भन्नेमा आफ््नो पूरै समय खर्चिएको बताउनुहुन्छ । आफूले महानगरवासीलाई सङ्कटको घडीमा दरिलो अभिभावकत्व दिने गरी काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नाेस् भनेको छु, सङ्कटमा मिलेर जुध्नुपर्छ ।”
स्वभावत सबैसँग मिल्न सक्ने भएकाले वृहत परामर्शमा काम गरिरहेकाले उहाँले सत्तापक्ष र प्रतिपक्षको साथ पाउँदै आउनुभएको छ । महानगरमा चार लाखभन्दा बढी जनसङ्ख्या छन् । पीडामा बढी महिलालाई पोल्ने हुँदा पनि सङ्कटमा महिला जनप्रनिधिको नेतृत्व प्रभावकारी हुने बताइन्छ । मकवानपुरसँग जोडिएको जिल्लाको पाँच नगरपालिकामध्येको राप्ती नगरपालिका हो । जहाँका दुई जनालाई कोरोना भाइरस पुष्टि भइसकेको छ । प्रमुख बराल रोगको सङ्क्रमण नेपालमा भित्रन्छ भन्ने अनुमान भएसँगै आफ्नो दैनिकी फेरिएको बताउनुहुन्छ । विगत एक महिनादेखि नगरवासीलाई सचेतना, क्वारेन्टाइन व्यवस्थापनजस्ता कार्यका लागि बैठक र दौडधुपमै उहाँको दैनिकी बित्ने गरेको छ । आम नागरवासीलाई गर्भिलो अभिभावकत्व दिन प्रमुख बराल लागिरहनुभएको छ । उहाँको नगरको चार वडा पहाडमा पर्दछन् । उद्योग कलकारखाना धेरै छन् ।
भोकै कोही बस्न नपरोस् भन्नका लागि उहाँले राहतमा बढी जोड दिनुभएको छ । हालसम्म पाँच हजार ३८५ परिवारले राहत पाइसकेका छन् । लगभग रु ६० लाख खर्च भइसकेको उहाँ बताउनुहुन्छ । स्थानीय बुद्ध शान्ति माविमा क्वारेन्टाइन चलिरहेको छ । अहिले सङ्क्रमण देखिएको वडा नं ८ का जनतालाई राख्न त्यहाँको ब्रह्मनगर स्कूलमा क्वारेन्टाइन बनाउने क्रममा हुनुहुन्छ ।
धादिङतर्फ जोडिएको इच्छाकामना गाउँपालिका प्रमुख गुरुङको दिन आजभोलि सडकमै बित्ने गरेको छ । पैदल हिँड्नेलाई गाडी रोकेर चढाएर पठाउने, चाउचाउ, पानी, बिस्कुटजस्ता खाना खुवाउने र राहात बाँड्न उहाँ व्यस्त हुहुन्छ । उहाँले भन्नुभयो, “बिहान घरबाट हिँडेपछि रात परेको थाहा पाउँदिन म ।” सडकमा पैदल हिँडेका मजदुरदेखि खान नपाएका गाउँवासीसम्मकोमा उहाँ पुग्ने गर्नुभएको छ । घरको क्वारेन्टाइनमा बसेकालाई सम्झाउन पनि उहाँ पुग्ने गरेको बताउनुहुन्छ ।
सो गाउँपालिकाको जनसङ्ख्या २८ हजार रहेको छ । जसमध्ये पाँच हजार ५०० चेपाङ पर्दछन् । कूल जनसङ्ख्याको आधा गरिब छन् । उहाँले अहिलेसम्म एक हजार ५०० भन्दा बढी घरधुरीलाई राहत बाँडिसकेको बताउनुभयो । दाताको खोजी गर्ने पनि उहाँको दैनिकीभित्र पर्दछ । उहाँले भन्नुभयो, “पुरुषको भन्दा कम मैले गरेको छैन । आत्तिने र मात्तिने मेरो बानी छैन ।” जनताको हितमा सकेजति लाग्ने भन्दै उहाँले भन्नुभयो, “मेरो क्षेत्रमा मजदुर हिँडिरहने म घरमा मज्जाले सुत्न सक्दिनँ ।” म घरमा खाइरहँदा मेरो गाउँवासीले पनि खान पाउनुपर्छ उहाँले भन्नुभयो ।
तीनै प्रमुखको दैनिकी सङ्कट समाधानमा केन्द्रित हुने गरेको छ । क्वारेन्टाइनदेखि राहतसम्मका काम गर्दैगर्दा तीन वटै स्थानीय तहका जनतालाई अभिभावकत्व दिलाउन सकियोस् भन्ने सङ्कल्पका साथ काम गरिरहेको देखिन्छ ।