राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएका कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्टि जनाएका छन्
शाहलाई लक्षित गर्दै उनले भनेका छन्, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगाे हस्तक्षेपको भर्त्सना गर्दछु ।’
पार्टीका युवा नेता राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा आइतबार बिहान पराजय बेहोरेपछि थापाको यो प्रतिक्रिया आएको हो ।
लिङ्देनकाे जित ज्ञानेन्द्रको पनि हाे भन्ने सन्दर्भमा उनले यस्ताे भनेका हुन् । थापाले पराजयपछि राहत र उन्मुक्ति पाएको बताए । उनले राजसंस्थाको एजेण्डा बोक्दाको पुरस्कार राजाबाट पाइएको बताउँदै घुमाउराे शैलीमा राजाकाे भलाे हाेस् भन्ने कामना गरेका छन्।
‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
महाधिवेशन हुनुअघि नै राप्रपा अध्यक्षका लागि पूर्वराजा ज्ञानेन्द्रको ‘ग्रिन सिग्नल’ लिङ्देनले पाएको समाचार सञ्चारमाध्यमहरूमा आएको थियो । तर, ती समाचारहरूको खण्डन भने भएको थियो। ।
यद्यपि, पूर्वराजा र थापाबीचको सम्बन्धमा २०७० पछि दरार पैदा भएको थियो । थापाले राजसंस्था एजेण्डाको संवाहक भने पनि शाहले विश्वास गर्न छाडेका थिए ।
थापाले हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको बनावटी ढंगले उठाएको, भित्रभित्रै राजसंस्थाविरुद्ध षड्यन्त्र गरेको, हिन्दूवादी र राजसंस्थाप्रति आस्था राख्नेको पार्टी पटकपटक फुटाएर सत्तामा गएको भन्दै राजा असन्तुष्ट थिए ।
हुन पनि थापा पटकपटक सत्तामा जाँदा पार्टी फुट्याे । फरक मतसहित असहमति जनाएको संविधान र सोही संविधानअनुसार गठित सरकारको उनी पछिल्लोपटक उपप्रधानसहित स्थानीय विकासमन्त्री भएका थिए ।
उनले मन्त्री भएकै बेला बागमती प्रदेशको राजधानी गृहजिल्ला मकवानपुरको हेटौंडालाई बनाएका थिए । स्थानीय तहको नामाकंनदेखि सीमांकन पनि उनकै पालामा भएको हो ।
विरोधाभाष हुने राजनीतिक चरित्र देखाएको भन्दै पूर्वराजा यसप्रति पनि असन्तुष्ट रहेको बताइन्छ