दोहा, कतार — नेपालीहरूको महान् पर्व शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा प्युठान सेवा समाज कतारले आयोजना गरेको ‘देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम २०२६’ भव्यताका साथ सम्पन्न भएको छ।
६ नोभेम्बर २०२६, शुक्रबारका दिन प्लाजा मलस्थित सेन्चुरी रेस्टुरेन्टको सभाहलमा मध्याह्न १२ :०० बजेदेखि सुरु भएको उक्त कार्यक्रम समाजका अध्यक्ष समुद्र खड्काको सभापतित्व तथा संस्थाका प्रमुख संरक्षक लीला जी.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक विशालले जिसिले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो। स्वागत मन्तव्यलगत्तै विजय भट्टराई र दिल बहादुर विकको टिमले आकर्षक ‘स्वागत देउसी भैलो’ प्रस्तुत गरेर कार्यक्रमको सांगीतिक माहोल तताएको थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका प्रमुख संरक्षक लीला जी.सी.ले सम्बोधन गर्दै तिहार केवल बत्ती र रङहरूको पर्व मात्र नभई नेपाली संस्कार, संस्कृति र आपसी भ्रातृत्वको प्रतीक भएको बताउनुभयो। उहाँले भन्नुभयो, "हाम्रा मौलिक चाडपर्वहरूले हामीलाई आफ्नो देश सङ्ग जोडिरहन्छन्। परदेशको व्यस्त जीवन र कठिनाइहरूका बाबजुद पनि आफ्ना परम्परा, रीतिरिवाज र सांस्कृतिक पहिचानलाई जोगाएर भावी पुस्तासम्म पुर्याउनु हामी सबै नेपालीको दायित्व हो। तिहारले दिने उज्यालो र देउसी भैलोको आत्मीयताले प्रवासमा रहेका सम्पूर्ण प्युठानी दाजुभाइ तथा दिदीबहिनीहरू बीचको एकतालाई अझ प्रगाढ बनाउनेछ।"
सभापतिको आसनबाट बोल्दै समाजका अध्यक्ष समुद्र खड्काले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले परदेशी भूमिमा पनि नेपाली चाडपर्वको जगेर्ना गर्न, आपसी सद्भाव बढाउन तथा प्युठानीहरूलाई एकै ठाउँमा गोलबद्ध गर्दै शुभकामना आदानप्रदान गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्युठान गौमुखी गाउँपालिका-७ नारिकोट र झिम्रुक गाउँपालिका-३ का मौलिक परम्परागत प्युठानी शैलीका देउसी भैलो प्रस्तुतिहरू रहेका थिए।
कलाकार संंयोजक सकुर जास्मीले सास्कृतिक कार्यक्रम सफल बनाउन उल्लेखनीय भुमिका खेल्नुभएको थियो साथै, कलाकार रेश्मी सेन्चुरी लगायत अन्य स्थानीय कलाकारहरूको बेजोड सांगीतिक एवम् सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई अझ रोचक र मनोरञ्जनात्मक बनाएको थियो। गाउँघरकै झझल्को दिने मौलिक भाका र नृत्यमा उपस्थित दर्शकहरू उत्साहका साथ झुमेका थिए।
कार्यक्रमका संस्थाका अभिभावक बलदेब राना र संरक्षक कमल आचार्यले कार्यक्रम सफ़ल बनाउन उल्लेखनीय भुमिका निभाउनु भएको थियो ।

कतारमा क्रियाशील विभिन्न वैचारिक, सामाजिक तथा वैधानिक संघ-संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, व्यवसायी, पत्रकारका साथै प्युठानी दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका महासचिव भोज पुनले गर्नुभएको थियो। कार्यक्रम आपसमा तिहारको शुभकामना आदानप्रदान र तथा भोजसहित अत्यन्तै सौहार्दपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको थियो।
प्युठानीहरूको एकता, मिलिजुली र सहकार्यको आवश्यकता’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सन् २००९ मा स्थापित यस समाजले स्थापना कालदेखि नै कतारमा विभिन्न सामाजिक तथा आर्थिक सहयोगका कार्यहरू गर्दै आएको छ।