कतारमा क्रियाशील रामेछाप सेवा समाजले विजयादशमी, दीपावली र छठ पर्वको पावन अवसर पारेर विशेष सांस्कृतिक देउसीभैलो कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। शुक्रबार प्लाजा मलस्थित वेयलफेयर रेस्टुरेन्टको सभाहलमा आयोजित उक्त समारोहले परम्परागत नेपाली कला, धर्म र संस्कृतिको अनुपम झल्को प्रस्तुत गर्दै उपस्थित सम्पूर्ण प्रवासी नेपालीहरूलाई आफ्नै गाउँघरको चाडपर्व र रौनकको प्रत्यक्ष अनुभूति गराएको थियो।
कार्यक्रममा कलाकारद्वय रेश्मी सेन्चुरी र देवी कँडेलले मौलिक लय र शैलीमा देउसी भट्याएर दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए। उनीहरूको प्रस्तुतिले कात्तिके दान संकलनमा योगदान पुर्याउनुका साथै परदेसको भूमिमा नेपाली परम्परा र मूल्य-मान्यताको जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने महत्त्वपूर्ण सन्देशसमेत प्रवाह गरेको थियो। साथै, पुकार थापाको आकर्षक मारुनी नृत्य, गायिका निशु मगरलगायत स्थानीय स्रष्टाहरूको सुमधुर सांगीतिक प्रस्तुति र गुञ्जित पञ्चेबाजाले कार्यक्रमलाई अझ बढी जीवन्त र उत्सवमय बनाएको थियो। उक्त देउसीभैलोमार्फत आयोजकले दुई हजार कतारी रियालभन्दा बढी रकम संकलन गर्न सफल भएको छ।
गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि कृष्ण पन्थीले प्रवासमा आफ्नो पहिचान र संस्कृतिको संरक्षण गर्दा कतारको स्थानीय कानुनको पूर्ण पालना गर्नु अनिवार्य रहेको बताउनुभयो। सम्बोधनका क्रममा उहाँले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई समयमै श्रम स्वीकृति नवीकरण गर्न र नेपाल सरकारको सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध हुन विशेष आग्रह गर्नुभयो।
समाजका अध्यक्ष राजु थापा मगरको अध्यक्षतामा सम्पन्न सो समारोहमा विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मी, स्थानीय कलाकार र ठूलो संख्यामा रामेछापवासी नेपालीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सुरुआत सांस्कृतिक संयोजक समन खनालको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन महासचिव प्रकाश दर्नाल ‘शीतल’ले गर्नुभएको थियो। समारोहका वक्ताहरूले परदेशमा रहेर पनि नेपाली मौलिकता र चाडपर्वलाई जोगाइराख्न समाजले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए।
समारोहको बिट मार्दै सभाध्यक्ष राजु थापा मगरले संस्थाको यो पहिलो आयोजना भए तापनि सबैको निरन्तर साथ, सहयोग र सद्भावका कारण भव्य रूपमा सफल भएको बताउनुभयो। उहाँले कार्यक्रमलाई सफल बनाउन खट्ने अतिथिहरू, कलाकार, पत्रकार, प्रायोजक तथा कार्यसमितिका साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा हुन सक्ने कमीकमजोरीलाई सुधार्दै अझ सशक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।