लेबनानको संसद पूर्व राष्ट्रपति मिचेल आउनको उत्तराधिकारी चयन गर्न बिहीबार सातौँ पटक असफल भएको छ ।
इरानसमर्थित शक्तिशाली हिजबुल्लाह आन्दोलनका समर्थक र यसका विरोधीबीच संसद् विभाजित भएपछि कुनै समूहमा स्पष्ट बहुमत नहुँदा राष्ट्रपतिको चयनमा समस्या भएको हो ।
संयुक्त राज्य अमेरिकाको निकट मानिने सांसद मिचेल मोआवदले संसदका १२८ सांसदमध्ये ४२ को समर्थन प्राप्त गर्नुभएको छ, जुन सङ्ख्या आवश्यक बहुमतभन्दा निकै कम हो । यद्यपि हिजबुल्लाह समर्थक सांसदहरूले खसालेको मतपत्रको सङ्ख्याभन्दा बढी हो ।
मोआवदको उम्मेदवारीको हिजबुल्लाहले विरोध गरेको छ, जसका नेता हसन नसरल्लाहले यसै महिना संयुक्त राज्य अमेरिकाको विरुद्धमा खडा हुन तयार राष्ट्रपतिको आह्वान गर्नुभएको थियो
“यो चुनावी प्रक्रिया होइन, यो सम्झौताका लागि पर्खने प्रक्रिया हो, जसले देश, जनता, अर्थतन्त्र र संविधानलाई हानि पु¥याउँछ,” क्रिश्चियन सांसद तथा मोआवद समर्थक सेमाई गेमायेलले भन्नुभयो ।
यसअघि पनि लेबनानमा राष्ट्रपतिको चयन प्रक्रियामा ढिलाइ हुने गरेको थियो ।
सन् २०१६ मा ओउनको आफ्नै निर्वाचनपछि राष्ट्रपति भवनमा दुई वर्षभन्दा बढी समय रिक्त भएपछि सांसदहरूले उहाँको उम्मेदवारीमा सहमति जुटाउनुअघि ४५ पटक असफल प्रयास गरेका थिए ।
तर गत महिनाको अन्त्यमा उहाँको कार्यकाल सकिनुअघि नै आउनको उत्तराधिकारी चयन गर्न असफल हुनु र लेबनानी आर्थिक सङ्कट विश्व बैंकले आधुनिक इतिहासकै सबैभन्दा खराब मध्येको एक बताएको अवस्थामा हुनुमा संयोग देखिएको छ ।
आपतकालीन ऋणमा अरबौं डलरको रिहाईको लागि मार्ग प्रशस्त गर्न व्यापक सुधारहरू लागू गर्न आवश्यक छ भन्ने ऋणदाताहरूको चेतावनीको बावजुद देशमा मे देखि कामचलाउ सरकारले काम गर्दै आएको छ ।
“नसोचिएको संस्थागत शून्यताले लेबनानी जनताको समस्यालाई अझ गहिरो बनाउँदै सङ्कट समाधान र महत्वपूर्ण सुधार अनुमोदनसम्बन्धी कुनै पनि सम्झौतामा थप ढिलाइ गर्नेछ,” विश्व बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
“लेबनानको सन् २०१८ देखि वास्तविक कुल गार्हस्थ्य उत्पादनमा ३७.३ प्रतिशतले सङ्कुचन आएको छ, जुन विश्वकै सबैभन्दा खराब मध्येको एक हो । यसले १५ वर्षको आर्थिक वृद्धिलाई समाप्त पारिसकेको छ र यसले देशको पुनरुत्थानको सम्भावनालाई खतरामा पारिरहेको छ ।
नयाँ राष्ट्रपति चयनका लागि आठौँ पटक संसद्को बैठक आगामी डिसेम्बर १ मा बस्नेछ ।