काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि बढाउँदै जोखिम व्यवस्थापनमा विशेष ध्यान दिने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले कोषमा सर्वसाधारणको बचत जोडिएकाले यसको लगानीमा सावधानी अपनाउनुपर्ने बताए ।
उनले भने, ‘नागरिक लगानी कोष २०४७ लाई संशोधन गर्न बनेको विधेयक २०८३ माथि भएको सैद्धान्तिक छलफलमा माननीय सदस्यज्यूहरूले सान्दर्भिक सुझावहरू, सल्लाहहरू, चिन्ता, चासोहरू राख्नुभएको छ। यो संस्थाले साच्चिकै धेरै नागरिक, नेपाली नागरिकहरूको जनजीवनसँग जोडिएकोले नै होला, यो संस्था पनि प्रिय र यसले गर्न खोजेको कुरा बारे यहाँहरूले जुन सकारात्मक धारणाहरू राख्नुभयो, त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु।’
अर्थमन्त्री वाग्लेले नेपालको राष्ट्रिय बचतले मात्रै अपेक्षित लगानीको मात्रा धान्न नसक्ने बताए । उनले आन्तरिक र बाह्य स्रोतबाट लगानी परिचालन गर्नुपर्ने भन्दै नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको एउटा आधारका रूपमा लिनुपर्ने बताए ।
उनले भने, ‘मुलतः सैद्धान्तिक रूपमा आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि लगानी गर्नुपर्दछ । लगानी मुलतः दुइटा स्रोतबाट आउँछन्, एउटा आन्तरिक स्रोत, अर्को बाह्य स्रोत। आफ्नो देशभित्रकै लगानी नपुग्दाखेरि अरु देशको बचतमा पनि हामीले हात हाल्नुपर्ने हुन्छ ।’
उनले गत वर्ष करिब १ हजार २५० अर्ब रुपैयाँ राजस्व उठेको र चालु वर्ष २ हजार १२४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य रहेकाले स्रोत परिचालनमा ठूलो खाडल रहेको बताए ।