दोहा, कतार
प्रवासमा रहेका खोटाङ्गेलीहरूको साझा संस्था खोटाङ सेवा समाज कतारको १३औँ अधिवेशनबाट पर्शुराम श्रेष्ठ (पवन) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति गठन गरिएको हो।
कतारमा स्थापित सामाजिक संघसंस्थामध्ये सबैभन्दा पुरानो मानिने यस समाजको दोहामा सम्पन्न खुला तथा बन्द सत्रले नयाँ नेतृत्व चयन गरेको हो। नवगठित समितिको प्रथम उपाध्यक्षमा रविन शेर्पा, द्वितीय उपाध्यक्षमा चुडामणि पुरी, तृतीय उपाध्यक्षमा श्याम बाबु आचार्य, महासचिवमा महेश दाहाल, सचिवद्वयमा सरोज काजी पाण्डे र शक्तिराज दाहाल, कोषाध्यक्षमा विश्वकला राई तथा सह-कोषाध्यक्षमा मनोज बस्नेत निर्वाचित हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा नवीन माझी, होमराज दाहाल, बुद्ध माझी, पवन पाण्डे, अपिस राई, पदम श्रेष्ठ र रमना क्षेत्री रहनुभएको छ। विधान अनुसार बाँकी रहेका ३ सदस्य पद भने नयाँ कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्नेछ। निर्वाचन समितिका संयोजक प्रेम प्रसाद भट्टराईले निर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनुभएको थियो।
समाजका कार्यवाहक अध्यक्ष पर्शुराम श्रेष्ठको अध्यक्षता तथा कोशी प्रदेश समन्वय परिषद् कतारका कार्यवाहक अध्यक्ष भीम बराइलीको प्रमुख आतिथ्यमा भएको अधिवेशनको खुला सत्रमा कलाकार वर्षा लोप्चन तामाङ र सज्नु बलले स्वागत नृत्य प्रस्तुती रहेको थियो ।
अधिवेशनको उद्घाटन सत्रमा उपाध्यक्ष रविन शेर्पाले संस्थाको ऐतिहासिक पृष्ठभूमि र महासचिव महेश दाहालले विगत दुई वर्षका सामाजिक तथा मानवीय कार्यको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमका वक्ताहरू एवं कोशी प्रदेश समन्वय परिषद् कतारका कार्यवाहक अध्यक्ष प्रमुख अतिथि भिम बराईलीले कतारमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउन र जन्मभूमिको विकासमा सहयोग पुर्याउन समाजले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।
अधिवेशनलाई थप आकर्षक बनाउन स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, स्वागत नृत्य, अनेसास कतारका अध्यक्ष दिलीप पराजुलीको गजल वाचनका साथै लक्की ड्र प्रतियोगितासमेत आयोजना गरिएको थियो। सो अवसरमा समाजका सल्लाहकार, पत्रकार तथा कलाकारहरूलाई नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रमको समापन गर्दै नवनिर्वाचित अध्यक्ष पर्शुराम श्रेष्ठले सामूहिक नेतृत्व र सहकार्यका माध्यमबाट संस्थालाई अझ उचाइमा पुर्याउने र प्रवासी खोटाङ्गेलीको हकहितमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।