नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले जम्मू–कश्मिरको पहलगाममा भएको आक्रमणलाई आततायी, अमानवीय र आतङ्कवादी क्रियाकलाप भनेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित ‘भारत पाकिस्तान युद्धले नेपालमा पर्नसक्ने असर’ बारे साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले उक्त घटनालाई आतङ्कवादी गतिविधिको रुपमा लिएको बताएका हुन् । उक्त घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग फोन संवाद गरी आतङ्कवादविरुद्धको भारतीय कदममा ऐक्यवद्धता जाहेर गरेको उनले बताए ।
‘भारतको पहलगाममा जुन आक्रमण भयो, त्यो आततायी, अमानवीय र आतङ्कवादी क्रियाकलाप हो । एक जना नेपालीसहित २६ जनाले त्यहाँ ज्यान गुमाएका छन् । नेपाल सरकारले यसलाई आतङ्कवादी घटनाको रुपमा लिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीलाई फोन गरेर पनि ऐक्यवद्धता जनाउनु भएको छ,’– उनले भने ।
उनले आतङ्कवादको विरुद्धमा हुने जुनसुकै प्रकारको लडाइँमा नेपाल सरकारको साथ रहनुपर्ने र सरकारले पनि सोही धारणा सार्वजनिक गरिसकेको बताए । नेता रिजालले भारत र पाकिस्तानबीचमा रहेको विभिन्न असमझदारी वार्ता र संवादको माध्यमबाट समाधान गर्नुपर्ने बताए । नेपालले आतङ्कवादविरुद्धको अभियानमा आफ्नो ऐक्यवद्धता जनाउनुको साथै समस्या समाधानको शान्तिपूर्ण पहल गर्नुपर्ने उनको भनाइ छ ।
साथै, अहिले दुई ठूला दल कांग्रेस र एमाले मिलेर बलियो सरकार बनेको र यसले नीति तथा कार्यक्रममार्फत जनतामा आशाको सञ्चार गरेको उनले बताए । नेता रिजालले भने, ‘दुईवटा ठूला पार्टीको बलियो सरकार बनेको हुनाले आशाको सञ्चार गरेको छ । केही राम्रा कार्यक्रमहरु ल्याउँछ, कार्यान्वयन हुने कार्यक्रमहरु ल्याउँछ भन्ने अपेक्षा आम मानिसहरुमा छ । यो नीति तथा कार्यक्रममा अभिव्यक्त पनि भएको छ ।’
अहिले सरकारले विगतका अनुभवहरुलाई ध्यानका राखेर, विगतमा विनियोजना भएको बजेट कार्यान्वयन हुन नसकेको, हचुवाको भरमा निर्धारण गरिएका योजनालाई पनि ध्यानमा राखेर यथार्थमुखी, कार्यान्वयन हुन सक्ने र परिणाम दिन सक्ने गरी बजेट ल्याउने बजेटको तयारी गरिरहेको पनि बताए ।
साथै, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा केही ढिलाइ भएको पनि अब चाँडै टुङ्गिने उनले बताए । केही प्राविधिक कुरा नटुङ्गिएको कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको उनले बताए ।
‘संयुक्त सरकारमा एउटा दलले चाहेजस्तो एकैछिनमा प्रक्रिया अगाडि बढ्दैन । राजनीतिक तहमा समझदारी गर्नुपर्ने हुन्छ । कतिपय प्रक्रियागत कुराहरु मिलाउनुपर्ने हुन्छ । त्यसकारणले गर्दा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा केही ढिलाइ भएको छ । मलाई लाग्छ– अब यो ढिलाइ धेरै जाँदैन । विषयहरु सल्टिँदै आउको छ । केही प्राविधिक कारणले गर्दा यो टुङ्गिन पाएको छैन,’– उनले भने ।