नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले कांग्रेस–एमालेसहितको वर्तमान सरकारले देश र जनताको पक्षमा केही नगरेकै आधारमा राजसंस्था फर्किन्छ भन्ने कुरा सम्भव नरहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजसंस्था पुनर्स्थापना सपनाको कुरा रहेको बताए । उनले रछ्यानमा फालिएको राजतन्त्र अब फर्किन सम्भव नरहेको र त्यो नेपाली जनताले स्वीकार पनि नगर्ने बताए ।
‘हिजो रछ्यानमा फ्यालिएको राजतन्त्र अब इतिहासको विषय बनिसक्यो । त्यो फर्किने कुरा किमार्थ सम्भव हुँदैन, नेपाली जनताले स्वीकार गर्ने स्थिति पनि छैन । हामीले आर्थिक र सामाजिक क्षेत्रमा, भ्रष्टाचार निवारण गर्ने कुरा, सुशासन कायम गर्ने कुरामा हामी गम्भीर भने हुनुपर्छ । यसकै आधारमा बदल्न सकिन्छ भन्ने सपनाको कुरा हो,’– उनले भने ।
नेता तामाङले वर्तमान व्यवस्थाको पक्षमा माओवादी, कांग्रेस, एमालेलगायतका दलहरु एक ठाउँमा उभिनुपर्ने बताए । उनले लोकतान्त्रिक गणतन्त्र ल्याउनमा माओवादीको प्रमुख भूमिका भए पनि कांग्रेस–एमालेलगायतका दलहरु पनि अब एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए । तर, कांग्रेस–एमालेले सजिलो हुन्जेलसम्म लोकतन्त्रको हिमायतीको रुपमा आफूलाई उभ्याउने र अप्ठ्यारो परेको स्थितिमा भने खुट्टा छाड्ने गरेको उनले बताए ।
‘कांग्रेस, एमालेजस्ता राजनीतिक दलहरु चाहीँ सजिलो भइन्जेलसम्म लोकतन्त्रको हिमायतीको रुपमा आफूलाई उभ्याउने, अप्ठ्यारो परेको स्थितिमा चाहीँ खुट्टा छाड्ने हो कि भन्ने कुरा मान्छेले गर्ने गरेका छन् । उनीहरु हिजो राजसंस्थाको पक्षमा उभिएकै शक्ति थिए । अन्ततः माओवादीको १० वर्षको जनयुद्धले राजतन्त्र जरोकिलो मक्किएको स्थितिमा पुर्याउने, जरोकिलो उखेल्न सफल भयो । त्यसको दवाबमा उनीहरु राजतन्त्रको विरुद्धमा आउन बाध्य भए भन्नेजस्तो स्थिति नआउला भन्ने हिसाबले आशंका गर्छन् । तर, पनि इतिहास पछाडि फर्किन प्राकृतिक हिसाबले सम्भव छैन,’– उनले भने ।रिपोर्टर्स नेपाल