मधेस जागरण अभियानद्वारा बारा–४ का भावी सांसद उम्मेदवारलाई साझा बहसका लागि आह्वान गरेको छ।
बारा निर्वाचन क्षेत्र–४ मा विभिन्न राजनीतिक दलहरूले आफ्ना उम्मेदवार औपचारिक रूपमा सार्वजनिक गरेसँगै मधेस जागरण अभियानले देश निर्माणका लागि ठोस नीति, योजना र कार्यक्रमसहित साझा बहसमा सहभागी हुन चारै जना उम्मेदवारलाई हार्दिक आह्वान गरेको छ भन्दै यस अभियानका प्रवक्ता "नवलकिशोर ठाकुरले जानकारी दिनु भएकोछ।
नेकपा एमालेबाट किशान श्रेष्ठ, आम जनता पार्टीबाट उमेश कुशवाहा, समुन्नत पार्टीबाट पुर्व आइ.जिपि सर्बेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रहबर अंसारी लाई भावी सांसद पदको उम्मेदवारका रूपमा अघि सारिएको छ।
मधेस जागरण अभियानले सार्वजनिक रूपमा जारी गरेको विज्ञप्तिमा खुला र स्वस्थ बहसले मतदातालाई योग्य उम्मेदवार छनोट गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
अभियानका अनुसार लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउँदै जनतामाझ स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न साझा बहस अत्यन्त आवश्यक रहेको उल्लेख गर्दौ मधेस जागरण अभियानका प्रवक्ता नवलकिशोर ठाकुरले जानकारी दिनु भएकोछ।
“खुला हृदयले यो आग्रह स्वीकार गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त र आशावादी छौं,” विज्ञप्तिमा भनिएको छ। साथै, बहसले विकास, सुशासन, रोजगार, शिक्षा, स्वास्थ्य र मधेसका मुख्य मुद्दाहरूमा उम्मेदवारहरूको धारणा प्रस्ट पार्ने अपेक्षा गरिएको छ।
स्थानीय नागरिक, बुद्धिजीवी र युवा वर्गले पनि यस्तो खुला बहसको पहललाई स्वागत गर्दै यसले लोकतान्त्रिक संस्कार मजबुत हुने र जनताको सूचित निर्णय क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।