काठमाडौं । देशको प्रमुख राजावादी दल राप्रपाले आउँदो निर्वाचनमा उठाएका बलिया उम्मेदवारहरूमध्ये एक हुन्, कुन्ती पोखरेल । उनले काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी छिन् ।
यस क्षेत्रका लागि पोखरेल नयाँ नाम होइनन् । उनले अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवारी दिएर तेस्रो स्थान हासिल गरेकी थिइन् । चुनाव जित्न नसके पनि उनले सम्मानजनक मत पाएकी थिइन् । अघिल्लो निर्वाचनमा रास्वपाकी सोबिता गौतम १५,२२९ मत ल्याएर विजयी हुँदा कुन्ती ११,४१४ मतका साथ तेस्रो भएकी थिइन् । दोस्रो स्थानमा रहेका एमालेका मणिराम फुयाँलले ११,५५५ मत प्राप्त गरेका थिए ।
त्यसबेला चुनाव जितेकी सोबिता यसपटक काठमाडौँ २ मा उठिनन्, उनी चितवन ३ बाट उम्मेदवार बनेकी छिन् । कुन्तीले भने अघिल्लो हारका बाबजुद आत्मविश्वासका साथ यही क्षेत्र रोजिन् । उनको आत्मविश्वासको मुख्य कारण यस क्षेत्रका मतदाताहरूसँगको भावनात्मक सम्बन्ध हो । उनी स्वयं यसै क्षेत्रकी मतदाता हुन् र पछिल्लो चुनावयता यहाँका बासिन्दासँग गहिरो रूपमा घुलमिल भएकी छिन् ।
पोखरेल राप्रपाभित्र लोकप्रिय महिला नेतृमा पर्छिन् । राप्रपाको गत महाधिवेशनमा उनले महिलातर्फ सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
आगामी आमनिर्वाचनका सन्दर्भमा पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश:
काठमाडौँ २ का मतदाताले राप्रपा र तपाईंलाई नै किन रोज्ने ?
राप्रपा देशको पहिचान, संस्कार, राष्ट्रिय एकता र सुशासनको एजेन्डा बोकेर राजनीति गर्ने पार्टी हो । देशमा भ्रष्टाचारले जरा गाडेको छ र राजनीतिक अस्थिरताले सिङ्गो प्रणालीलाई थिलथिलो पारेको छ । लामो समयदेखि देशको नेतृत्वदायी भूमिकामा रहेका दलहरू असफल भइसकेका छन् । मतदाताले विकल्प खोजिरहेका बेला विचार र सिद्धान्तका आधारमा राप्रपा नै एक मात्र वैकल्पिक शक्ति हो । बहुसङ्ख्यक जनताले हाम्रा एजेन्डालाई मन पराएका छन् । म जनतासँग प्रत्यक्ष जोडिएको उम्मेदवार हुँ । जनताका समस्या बुझ्ने र समाधान खोज्ने प्रतिबद्धतासहित चुनावी मैदानमा छु ।
अघिल्लो चुनावमा तेस्रो हुनुभएको थियो, यसपालि पहिलो हुने आधार के छ ?
अघिल्लो चुनावको तेस्रो स्थान मेरो लागि हार होइन, जितको प्रस्थानविन्दु थियो । आज मसँग बलियो जनाधार छ । यस क्षेत्रका गाउँ–गाउँ र टोल–टोलसँग मेरो गहिरो सम्बन्ध बनिसकेको छ । जनताका मुद्दामा म सधैँ स्पष्ट छु । सबैभन्दा ठूलो कुरा, मैले काठमाडौँ–२ का बासिन्दालाई कहिल्यै झुटो आश्वासन बेचिनँ । यसपालि पहिलो हुने मुख्य आधार भनेको जनताको फेरिएको मनोविज्ञान हो । अब जनता पोस्टर होइन, परिणाम खोजिरहेका छन् र म त्यो दिन सक्छु ।
तपाईंले आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई ठान्नुभएको छ ?
मेरो प्रतिस्पर्धा कुनै व्यक्ति वा पार्टीसँग होइन, जनतामा व्याप्त निराशा र यस क्षेत्रका पूर्व सांसदहरूले जनतासँग गरेको छलसँग हो । चुनावी मैदानको कुरा गर्दा, जो–जो काठमाडौँ २ को मत प्रयोग गरेर संसद्मा पुगे र यहाँका जनताका सपना बेचेर सत्ताको सिँढी चढे, ती सबैसँग मेरो प्रतिस्पर्धा छ । मैले विकल्प होइन, विश्वास मागेकी छु र त्यो जित्न म दिनरात मिहिनेत गरिरहेकी छु ।
यसअघि रास्वपाबाट चुनाव जितेकी सोबिता गौतमले संसद्मा कस्तो भूमिका निर्वाह गरेको पाउनुभयो ?
संसद्मा भूमिका निर्वाह गर्नु भनेको भाषण गरेर भाइरल हुनु मात्र होइन, आफूले जितेको क्षेत्रका जनताको मुद्दा लिएर लड्नु पनि हो । उहाँको भूमिका हेर्दा यस क्षेत्रले अपेक्षा गरेअनुसारको सक्रियता मैले महसुस गर्न सकिनँ । युवा रोजगारी, खानेपानी, उद्योगीका समस्या, बाढी–पहिरो, नदी तटबन्ध, जीर्ण सडक र ट्राफिक जाम जस्ता विषयमा यहाँका जनताले खोजेको नेतृत्व संसद्मा पुग्न सकेन । त्यसैले त आज जनताले सोधिरहेका छन्– हाम्रो प्रतिनिधि खोइ ?
उहाँ चितवन झरेको विषयमा तपाईंको टिप्पणी के छ ?
चितवन जानु उहाँको अधिकार हो, तर राजनीति जिम्मेवारी बोक्नका लागि हुनुपर्छ, फोटो खिच्न र भाषण गर्नका लागि मात्र होइन । संसद्मा बसेर जनताको पीडा बोक्ने आँट छैन भने चुनावका बेला मात्रै क्षेत्र परिवर्तन गर्नु यहाँका जनतामाथि अन्याय हो । चितवन कसैको राजनीतिक अभ्यासस्थल होइन । त्यहाँका जनताले अब ‘कहाँबाट आएको’ भन्दा पनि ‘के गरेर देखाएको’ भन्ने आधारमा मत दिनेछन् ।
रास्वपाले यसपालि सुनील केसीलाई टिकट दिएको छ, उनले तपाईंको भोट काट्ने डर छैन ?
भोट काटिने डर तब हुन्छ, जब मतदाता दुविधामा हुन्छन् । काठमाडौँ २ का मतदाता अब दुविधामा छैनन् । उनीहरूलाई थाहा छ– को ‘अवसर’ खोज्दै पार्टी फेर्छ र को ‘आदर्श’ बोकेर उभिन्छ । जो जहाँ गए पनि जनताले निष्ठा, चरित्र र स्थिरता हेरिरहेका छन् । राप्रपा कुनै व्यक्तिको नाम होइन, यो एक विचार र आन्दोलन हो । हाम्रो भोट जनताको विवेकले सुरक्षित राखेको छ ।
राप्रपाभित्रको आन्तरिक विवादले चुनावमा कस्तो असर गर्ला ?
हामीभित्र केही मतभेदहरू भए, तर ती कुर्सीका लागि होइनन्, दिशा र सिद्धान्तका लागि थिए । राप्रपा व्यक्ति–केन्द्रित होइन, राष्ट्र–केन्द्रित पार्टी हो । यदि उद्देश्य एउटै छ भने वैचारिक मन्थनले पार्टीलाई अझ परिपक्व बनाउँछ ।
राप्रपाले यो चुनावमा कति सिट जित्ने अपेक्षा गरेको छ ?
हामी सङ्ख्याको घमण्ड गर्दैनौँ, राष्ट्रको एजेन्डा बोकेर चुनाव लड्दैछौँ । म यति विश्वासका साथ भन्छु कि यो चुनावमा राप्रपा निर्णायक शक्ति बन्नेछ । जनताले अब राष्ट्रवादी, इमानदार र स्पष्ट दृष्टिकोण भएको शक्तिको आवश्यकता बुझिसकेका छन् ।
घन्टीको लहरले राप्रपा ओझेलमा परेको महसुस गर्नुभएको छ ?
लहरहरू आउँछन् र जान्छन्, तर माटोको गन्ध, राष्ट्रको माया र पहिचानको आगो कहिल्यै मर्दैन । घन्टीको लहरले राप्रपालाई ओझेलमा पारेको छैन । बरु यसले जनतालाई के सिकाएको छ भने– विकल्प भनेको नयाँ अनुहार मात्र होइन, सही विचार र स्पष्ट दिशा पनि हो । राप्रपा कुनै ‘अल्गोरिदम’ वा ‘ट्रेन्ड’ होइन, यो इतिहास र भविष्यको राष्ट्रिय शक्ति हो ।
काठमाडौँ २ का मुख्य समस्या के–के हुन् ?
यहाँको मुख्य समस्या फोहर व्यवस्थापन, अव्यवस्थित ढल निकास, ट्राफिक जाम, स्वास्थ्य सेवामा पहुँचको कमी, खानेपानीको अभाव र युवा बेरोजगारी हुन् । यस्तै, घरधनी–भाडावाला समस्या र सार्वजनिक कार्यालयहरूमा हुने ढिलासुस्ती पनि प्रमुख हुन् । यी समस्याको समाधान भाषणबाट होइन, ठोस योजना, बजेट र प्रभावकारी अनुगमनबाट मात्र सम्भव छ ।
तपाईंको पहिलो प्राथमिकता के हुनेछ ?
जित्नासाथ म ‘काठमाडौँ २ सुधार कार्ययोजना’ अघि बढाउनेछु । ढल, खानेपानी र फोहरको एकीकृत समाधान, सडक व्यवस्थापन, स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार तथा युवालाई सीप र रोजगारीसँग जोड्ने कार्यक्रम मेरो प्राथमिकतामा रहनेछन् ।
संसद् सदस्यको काम स्थानीय विकास मात्र हो र ?
पक्कै होइन । संसद् सदस्यको मुख्य काम नीति निर्माण, बजेट विनियोजन र सरकारलाई जवाफदेही बनाउनु हो । तर काठमाडौँ जस्तो ठाउँमा स्थानीय समस्याहरू राष्ट्रिय बजेट र नीतिसँग प्रत्यक्ष जोडिन्छन् । म संसद्मा काठमाडौँ २ का मुद्दालाई प्राथमिकताका साथ उठाउनेछु । म ‘फाइल बोकेर हिँड्ने’ होइन, ‘परिणाम निकाल्ने’ जनप्रतिनिधि बन्न चाहन्छु ।
पर्यटकीय क्षेत्र पटाप र नाङ्लेभारेको विकासका लागि के सोच्नुभएको छ ?
पटाप र नाङ्लेभारेको प्राकृतिक सुन्दरतालाई सदुपयोग गरेर यहाँको अर्थतन्त्र सुधार्न सकिन्छ । मेरो योजना पहिलो चरणमा पैदलमार्ग (हाइकिङ ट्रेल) सुधार, सुरक्षा व्यवस्था, स्वच्छता र स्थानीय होमस्टे प्रवद्र्धन गर्ने हो । नगरपालिकासँग समन्वय गरेर पर्यटन पूर्वाधार निर्माणका लागि बजेट सुनिश्चित गरिनेछ । प्रकृति नबिगारी ‘इको–टुरिज्म’ मोडेलमार्फत स्थानीय युवालाई स्वरोजगार बनाउने मेरो स्पष्ट प्रतिबद्धता छ ।
महिला उम्मेदवारका रूपमा तपाईंले कस्तो चुनौती भोग्नुभयो ?
कतिपयले महिलालाई अझै पनि ‘कमजोर’ ठान्ने प्रवृत्ति राख्छन्, तर म यसलाई चुनौती होइन, अवसर ठान्छु । यदि महिलाले घर र समाज सम्हाल्न सक्छन् भने देश किन सक्दैनन् ? मेरो उम्मेदवारीले महिलाहरूको आत्मविश्वास बढाउनेछ भन्नेमा म विश्वस्त छु ।
अन्त्यमा मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?
आदरणीय मतदाता दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरूको मत केवल एक व्यक्तिलाई होइन, काठमाडौँ २ को भविष्यका लागि हो । म वाचा गर्छु, जितेपछि म हराउने छैन । म सधैँ तपाईंहरूकै बीचमा रहेर सेवा गर्नेछु ।