दोहा, कतार
झापाली समाज कतारअन्तर्गत आबद्ध इकाई समिति नेपाल प्रवासी सन्थाली राहत कोष (झा.मो.सु.) दोहा कतारको आयोजनामा चौथो वार्षिक भेला, बडादशैँको शुभकामना आदानप्रदान, सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गत २३ अक्टोबर २०२६ तारिख शुक्रबारका दिन ग्रान्ड मलस्थित वेलफेयर रेष्टुरेण्टमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
संस्थाका अध्यक्ष लुखीराम टुडुको अध्यक्षता तथा झापाली समाज कतारका संरक्षक भवानीप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा झापाली समाज कतारका प्रमुख सल्लाहकार केशव कार्की, सल्लाहकारहरू तिलक सिलवाल र लंका दर्नाल तथा अध्यक्ष चानीलाल राजवंशीको उपस्थिति रहेको थियो। साथै विभिन्न इकाई समितिका अध्यक्षहरू, पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार, साहित्यकार एवं सन्थाली तथा गैरसन्थाली समुदायका नेपालीहरूको उल्लेख्य सहभागिता थियो।
विशेष अतिथि केशव कार्कीले पूजाआराधनाबाट सुरु भएको कार्यक्रमको सफलताको प्रशंसा गर्दै आयोजकलाई धन्यवाद दिनुभयो र आगामी दिनमा सम्भव भएसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख अतिथि भवानीप्रसाद कोइरालाले बडादशैँ, शुभदीपावली तथा छठ पर्वको शुभकामना दिँदै झापा, मोरङ र सुनसरीका सन्थाली समुदायलाई प्रवासमा एकताबद्ध गराउन संस्थाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। सामाजिक काम गर्दा आउने चुनौतीहरूलाई पन्छाउँदै संस्थालाई यहाँसम्म ल्याउन सफल नेतृत्व र सदस्यहरूको योगदानको कदर गर्दै उहाँले आगामी दिनमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
साथै, कोइरालाले राष्ट्रिय एकता र साझा नेपाली पहिचानमा जोड दिँदै भन्नुभयो, "हामी प्रवासमा एउटै नेपाली राहदानी बोकेर आएका छौँ। जातीय र धार्मिक विविधताबीच पनि नेपाली हुनुको साझा भावना जागृत राख्नुपर्छ। आफ्नो भाषा, लिपि र अधिकारको कुरा गर्दा अरूको धर्म र संस्कृतिको पनि सम्मान गर्नुपर्छ।"
कार्यक्रममा झापाली समाज कतारका सल्लाहकारहरू, अध्यक्ष, सिजन मिडियाका प्रतिनिधि तथा उपस्थित बुद्धिजीवीहरूले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो।
सांस्कृतिक कार्यक्रमतर्फ सन्थाली मौलिक पोसाक (रातो र हरियो रङको आकर्षक पोसाक र शिरको सजावट) मा सजिएका कलाकारहरूले प्रस्तुत गरेको सामूहिक नृत्य कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। कलाकारहरूसँगै सहभागी महिला तथा पुरुषहरू पनि नृत्यमा सामेल भएका थिए।
यसैगरी, कलाकार बिनिता राजबंशी र पार्वती राजबंशीले नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए भने गायक रोशन घिमिरेले पूर्वेली गीत गाएर उपस्थित दर्शकहरूलाई मनोरञ्जन दिलाएका थिए। भेलाले प्रवासमा मौलिक कला-संस्कृतिको प्रवर्द्धनका साथै भाइचारा अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको थियो।
कार्यक्रमका अवसरमा प्रमुख अतिथि, विशेष अतिथिहरू, इकाई समितिका अध्यक्षहरूका साथै कार्यक्रम सफल बनाउन खटिएका कलाकार, पत्रकार, साहित्यकार र स्वयंसेवकहरूलाई सम्मानपत्र, दोसल्ला र खादा ओढाएर सम्मान गरिएको थियो।
उक्त कार्यक्रमको सञ्चालन संस्थाकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरु टुडु र लोक थापाले संयुक्त रूपमा गर्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष एवं संस्थाका अध्यक्ष लुखीराम टुडुले सहयोगदाता, कलाकार, पत्रकार, स्वयंसेवक, सञ्चालक तथा उपस्थित सम्पूर्ण सहभागीहरूप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि संस्थाका सामाजिक तथा सांस्कृतिक गतिविधिहरूमा सबैको निरन्तर सहयोग र सहकार्यको अपेक्षा राख्दै कार्यक्रम समापन गर्नुभएको थियो।