दोहा, कतार : पर्वत जिल्लाबाट कतारमा आइ विभिन्न पेशा र व्यवसायमा आबद्ध जिल्ला बासीहरुको साझा संस्था पर्वत समाज कतारले आगामी फेब्रुअरी ६ तारिखका दिन 'रमाईलो वनभोज' कार्यक्रम आयोजना गर्ने भएको छ।
"निस्वार्थ सेवामा हाम्रो पर्वत, राम्रो पर्वत" भन्ने मूल नाराका साथ सन् २००३ (वि.सं. २०६०) मा स्थापना भएको यस समाजले कतारमा रहेका पर्वतेलीहरू बीच आपसी भाइचारा, एकता र आत्मियता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम तय गरेको संस्थाका अध्यक्ष सन्तोष क्षेत्रीले बताएका छन्।
यसपटकको वनभोज कार्यक्रममा नेपाली मौलिक संस्कृतिको पहिचान बोकेको पन्चेबाजा मुख्य आकर्षणको रूपमा रहने आयोजकले जनाएको छ। परदेशको व्यस्त समयका बीच पनि आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्ने र सामूहिक रूपमा मनोरञ्जन लिने उद्देश्यले पन्चेबाजाको व्यवस्था गरिएको हो।
मिति: ६ फेब्रुअरी २०२६, शुक्रबार,समय: बिहान ठीक १०:३० बजेदेखि,बत्रा वीच (Batra Beach) मा कार्यक्रम हुने छ ।
पर्वत समाज कतारले कतारमा रहेका सम्पूर्ण पर्वतवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त दिन उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल पारिदिनुहुन र समाजसँग जोडिन हार्दिक निमन्त्रणा गरेको छ।
स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको यस समाजले यस वनभोज कार्यक्रममार्फत समुदायका सदस्यहरू बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ।