बाजुरा । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि वाजुरामा उम्मेदवारहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् ।
बाजुराबाट उम्मेदवारी दिएका एक स्वतन्त्रसहित अन्य ७ दलका व्यक्ति अहिले घरदैलो अभियानमा व्यस्त छन् ।
जनताको घरदैलोमा पुगेर भोट अपिल गर्न उम्मेदवारलाई भ्याइनभ्याई छ । बाजुरामा मुख्य गरी चार राजनीतिक दलको प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो।
कांग्रेसका जनकराज गिरी, नेकपा एमालेका लाल बहादुर थापा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रकाश बहादुर शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा मुख्यगरी चुनावी मैदानमा छन्।अहिले जिल्लामा यिनै चारजनाको माहोल छाइरहेको छ । कांग्रेस आफ्नो विरासत जोगाउने पक्षमा छ ।
एमाले २०७९ को पराजयलाई विजयी बनाउने पक्षका साथ अघि बढिरहेको छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टी र रास्वपा पनि आफ्नो जित सुनिश्चित गर्न चुनावी अभियानमा अघि बढेका छन्। यो निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो निर्वाचनमा भने नेपाली कांग्रेसले सहज जित निकालेको थियो।
यो निर्वाचनमा कांग्रेस र एमालेलाई समेत चुनौती थपिएको छ । एमाले परित्याग गरि नेकपामा प्रवेश गरेका नेता प्रकाश शाह र सामाजिक अभियन्ता हेमराज थापाले दुई पुराना दल कांग्रेस र एमालेलाई चुनौती दिई रहेका छन्। एक निर्वाचन क्षेत्र रहेको बाजुरामा एक स्वतन्त्रसहित सात राजनीतिक दलका व्यक्ति चुनावी मैदानमा छन् ।