मनिषा बस्नेत, नेपाल न्यूज बैंक
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको दुई दशक लाग्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार राजसंस्था र हिन्दु राज्यको मुद्दा लिएर घरदैलो अभियानमा व्यस्त छन् ।
काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपाका केन्द्रीय प्रवक्ता डा. सुन्दर सिंह बोहोराको घरदैलो अभियान केवल भोट माग्ने औपचारिकता मात्र देखिँदैन । गणतन्त्र, राजसंस्था, धर्म, संस्कृति र राज्य संरचनाबारे गम्भीर वैचारिक हस्तक्षेपका रूपमा अभियान अघि बढिरहेको देखिन्छ ।
नेतृत्व विकास तथा मानव संसाधनमा विद्यावारिधी गरेका डा. बोहोराले निर्वाचन आचारसंहिता उल्लंघनका घटनाले बारम्बार चुनावलाई विवादित बनाइरहँदा आफूले शालीन, संयमित र धार्मिक–सांस्कृतिक शैलीमा चुनावी अभियान गरिरहेको बताए ।
उनले भड्किलो नाराबाजी, अपमानजनक भाष्य र उत्तेजक भाषणबाट टाढा रहँदै ‘आशीर्वाद लिने’ अभियानमा जोड दिएको बताए ।
‘घरदैलो कार्यक्रममा आचार संहितालाई आत्मसाथ गरेर काम गरिरहेका छौं । भड्किरा शब्दहरु बोलेका छैनौं र एकदम शुद्ध, पवित्र मनसहित मैदानमा छौं । सबैको आशिर्वाद पाउनेगरी हिडिरहेको छौं,’ उनले भने ।
राप्रपाले आफूलाई अन्य दलहरूभन्दा फरक, अनुशासित र परम्परागत मूल्यमा आधारित शक्तिका रूपमा प्रस्तुत गर्न खोजेको उनले बताए । उनका अनुसार हाम्रो शैली शहरी मतदाता र राजनीतिप्रति आजित नागरिकलाई लक्षित रणनीति हो ।
डा. बोहोराले ०८२ को निर्वाचनलाई व्यवहारमा जनमत संग्रहसँग तुलना गरेका छन् । उनको विश्लेषणमा चुनाव दुई धारमा विभाजित हुँदैछ ।
एकातिर गणतन्त्रलाई निरन्तरता दिन चाहने दलहरू, अर्कोतिर राजसंस्था र सनातन हिन्दू पहिचान पुनःस्थापनाको माग गर्ने राष्ट्रवादी शक्ति छन् । यो बहस नयाँ होइन ।
हामीलाई जिम्मेवारी दिनुभयो भने बुद्धिजम, टुरिजम र हिन्दुजमलाई प्राथमिकता दिनेछौं,’ उनले भने ।
युवा विदेश जानु राजनीतिक असफलताको प्रतीक मात्र होइन भन्ने डा. बोहोराको धारणा परम्परागत भाष्यभन्दा फरक छ । सीप सिकेर फर्किने, अनुभव बटुल्ने र स्वदेशमा उद्यमशीलता विकास गर्ने प्रक्रियालाई उनी स्वाभाविक ठान्छन् ।
उनले राज्यले युवालाई स्वरोजगार, कृषि, जंगल, जमिन र जलसँग जोड्न सक्नुपर्ने बताए । आत्मनिर्भरता बिना राष्ट्रको समृद्धि सम्भव नभएको उनको निष्कर्ष छ ।
डा. बोहोराले अघि सारेको ‘पृथ्वी पथ’ अवधारणा सन्तुलन, चेक एण्ड ब्यालेन्स र दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएको बताए । यो अवधारणा प्रचण्डको ‘प्रचण्ड पथ’को प्रतिपक्षीय वैचारिक ब्रान्डिङ भएको बताए ।