काठमाडौँ । शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुँदैन भन्ने सन्देशलाई व्यवहारमै उतार्दै मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय स्तरको सांस्कृतिक महोत्सव आयोजना गरेको छ। चुच्चेपाटी–चाबहिलस्थित कलेजले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विद्यार्थी प्रतिभा, शिक्षा र सम्मानलाई एउटै मञ्चमा जोड्दै विशेष कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रमको मुख्य उद्देश्य नयाँ भर्ना भएका कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्नुका साथै कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका योगदानकर्तालाई सम्मान गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा शैक्षिक संस्थाहरू, अभिभावक, शिक्षक, विद्यार्थी र समाजका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशेष अतिथिहरूमा अभिनेत्री प्रियंका कार्की, हास्य कलाकार बुद्धि तामाङ, सञ्चारकर्मी विश्व लिम्बु, शिक्षाविद् अभिषेक घिमिरे, राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा र समाजसेवी अनन्तराम भेटवाल रहेका थिए।
कार्यक्रमको आकर्षणका रूपमा मनास्लुले हरेक वर्ष आयोजना गर्दै आएको ‘मनास्लु आइडल’, ‘मनास्लु डान्सिङ स्टार’ तथा ‘मिस्टर एन्ड मिस मनास्लु २०८२’ को ग्राण्ड फिनाले सम्पन्न भयो। विद्यार्थीहरूको गायन, नृत्य र प्रस्तुतीले कार्यक्रमलाई जीवन्त बनाएको थियो।
क्याम्पस प्रमुख राजन श्रेष्ठले मनास्लु शिक्षा र सीपलाई सँगसँगै अघि बढाउने संस्थान भएको उल्लेख गर्दै विद्यार्थीलाई आत्मविश्वासी, सक्षम र जिम्मेवार नागरिक बनाउने लक्ष्यसहित कलेज अघि बढिरहेको बताए। उनले विद्यार्थीको भविष्य निर्माणमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा हास्य कलाकार बुद्धि तामाङ, सञ्चारकर्मी विश्व लिम्बु, खेलाडी एन्जिला तुम्बाप्पो सुब्बा, शैक्षिक अभियन्ता अभिषेक घिमिरे र समाजसेवी अनन्त प्रसाद भेटवाललाई आ–आफ्नो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको थियो।
त्यसैगरी प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठलाई ‘मनास्लु राष्ट्रिय गौरव सम्मान २०८२’ प्रदान गरियो। उनको जीवनयात्रा झल्काउने सांस्कृतिक प्रस्तुतीले कार्यक्रम भावनात्मक बनेको थियो। सम्मान ग्रहणपछि बोल्दै श्रेष्ठले युवालाई चेतनशील र जिम्मेवार प्रतिनिधि छान्न आग्रह गर्दै शिक्षा र विवेकलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
कार्यक्रमको सांगीतिक सत्रमा चर्चित गायिका शान्ति श्री परियार र तृष्णा गुरुङ एन्ड कोल्याब ब्यान्डले प्रस्तुति दिएका थिए। साथै ‘भोइस अफ मनास्लु’ म्यागेजिनको विमोचन पनि गरिएको थियो।
कार्यक्रम समापन गर्दै अध्यक्ष लामाले मनास्लु विद्यार्थीलाई राष्ट्रिय स्तरको मञ्चमा पुर्याएर नेतृत्व विकास गराउने उद्देश्यमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै भावी दिनमा अझ सिर्जनात्मक कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका थिए ।पुरा तस्बिर हेर्न यहा क्लिक गर्नुहोस