काठमाडौं । चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा १२०० भन्दा बढी विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो।
मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्प्रेरक वक्ता सौरभ लोहनी, चर्चित रकहेड ब्याण्ड, गायक कर्णराज गिरी तथा जादुगर राजेन्द्र गिरी ‘गुन्द्रुके’ लगायतका व्यक्तित्वहरूको विशेष प्रस्तुति रहेको थियो। कार्यक्रममा कलेजका पदाधिकारी, शिक्षक–शिक्षिका, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो।
स्वागत मन्तव्य राख्दै कक्षा १२ की छात्रा अभियान घिमिरेले मनास्लु परिवारमा नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजले विद्यार्थीलाई केवल शिक्षित मात्र नभई सक्षम नेतृत्वकर्ता बन्न प्रेरित गर्ने बताइन्।
क्याम्पस प्रमुख राजन श्रेष्ठले मनास्लु विद्यार्थीको क्षमता पहिचान गरी करियर निर्माणमा सहयोग गर्ने संस्थाका रूपमा स्थापित भएको उल्लेख गरे। उनले केवल जीपीएले भविष्य निर्धारण नगर्ने भन्दै विद्यार्थीलाई आफ्नो रुचि र क्षमताको विकासमा केन्द्रित हुन आग्रह गरे।
कार्यक्रममा ‘मिस्टर एन्ड मिस मनास्लु २०२५’ का विजेता रोशिन ढकाल र अस्बिन गुरुङलाई सम्मान गरिएको थियो। सम्मानपछि बोल्दै मिस मनास्लु विजेता ढकालले मनास्लुले आफ्नो व्यक्तित्व र क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताइन्।
सामान्य अभिमुखीकरण कार्यक्रमभन्दा फरक शैलीमा आयोजित कार्यक्रममा प्रेरणादायी प्रस्तुति, सांगीतिक कार्यक्रम, नृत्य, र्याप, दोहोरी तथा जादु प्रदर्शनले विद्यार्थीहरूलाई मनोरञ्जनसँगै उत्प्रेरणा प्रदान गरेको थियो।
कार्यक्रममा कक्षा ११ अध्यापन गर्ने शिक्षकहरूको परिचय गराइएको थियो भने सह–प्रधानाध्यापक गोपाल श्रेष्ठले कलेजका नीति, गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी दिएका थिए।
यसै अवसरमा ‘मनास्लु एकेडेमिक अचिभमेन्ट अवार्ड’ अन्तर्गत उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। विभिन्न संकायका ९९७ विद्यार्थीमध्ये सर्वाधिक अंक प्राप्त गरी कलेज टपर बन्न सफल देवेन्द्र दाहाललाई कक्षा १२ अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति, नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो।
एकेडेमिक डाइरेक्टर शशी केसीले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्पराले अध्ययनप्रति थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको समापन गर्दै अध्यक्ष गेन्द्र लामाले मनास्लुप्रति विश्वास गर्ने १२०० भन्दा बढी विद्यार्थी र अभिभावकप्रति आभार व्यक्त गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याए। उनले मनास्लु निरन्तर प्रगतिको यात्रामा रहेको उल्लेख गर्दै वर्षभरि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने बताए।पुरा तस्बिर हेर्नुहोला