सुर्खेत । आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा कर्णालीका नौ पूर्वमन्त्रीहरु चुनावी मैदानमा होमिएका छन् ।
१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चारजना मन्त्री र पाँच जना संघीय सरकारका मन्त्रीहरु छन् ।
पूर्व अर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वपर्यटन मन्त्री खड्कबहादुर बिश्वकर्मा, पूर्वसहरी बिकास मन्त्री धनबहादुर बुढा र कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री तथा पूर्वऊर्जा मन्त्री महेन्द्र बहादुर शाही चुनावी मैदानमा छन् ।
त्यस्तै कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री नरेश भण्डारी जुम्लाबाट, गोपाल शर्मा रुकुम पश्चिमबाट, चन्द्रबहादुर शाही मुगुबाट र अम्मरबहादुर थापा दैलेख क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । यी सबै पूर्वमन्त्रीहरु माओवादी र एकीकृत समाजवादी पृष्ठभूमिका हुन् ।
जनार्दन शर्मा र गोपाल शर्मा :एक हार्ने सुनिश्चित
त्कालिन नेकपा माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा र उनकै विश्वास पात्र गोपाल शर्मा रुकुम पश्चिमबाट चुनावी प्रतिपस्र्धामा छन् ।
पूर्वअर्थमन्त्री जनार्दन र कर्णाली प्रदेशका पूर्वआर्थिक मामिला मन्त्री गोपाल शर्मा पूरानो माओवादी पार्टीका नेता हुन् । कुनै समय नेकपाका संयोजक प्रचण्डका विश्वास पात्र मानिएका शर्मा आगामी चुनावमा भने आफ्नै कार्यकर्ता गोपाल शर्मासंग प्रतिस्पर्धा गर्दैछन् ।
माओवादीको आधारक्षेत्र मानिने रुकुम पश्चिममा जनार्दनको आफ्नै पनि प्रभाव राम्रो छ । जनार्दनको प्रभावकै कारण २० बर्षदेखि लगातार तत्कालिन माओवादीले जित्दै आएको बताइन्छ । प्रचण्डको विश्वासकै कारण कर्णालीमै उनको प्रभाव रहन्थ्यो । त्यसैले त कर्णाली सरकारको मुख्यमन्त्री जो भए पनि उनकै इशारामा चल्ने समय थियो कुनै बेला । यतिसम्म कि महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा उनले कर्णाली प्रदेश सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्र बनाएर जनार्दनलाई संयोजक बनाएका थिए ।
रुकुम पश्चिममा जनार्दनको नाम लिएर जो कोही चुनावमा गएपनि जितिन्छ भन्ने प्रभाव बनाएका थिए उनले । तर, अहिले उनी आफै चुनाव कसरी जित्ने भन्ने रणनीतिमा छन्् । उनले तत्कालिन पार्टी छाडेर प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट चुनावमा होमिएका छन् ।