कुन्ती पोखरेल
उम्मेदवार(प्रत्यक्ष)राप्रपा
काठमाडौं क्षेत्र नम्बर २
मनिषा बस्नेत, नेपाल न्यूज बैंक
जितेर गएकाहरु क्षेत्र फर्केनन्, म हारेपनि घरदैलोमै छु, यस पटक जित्छु : कुन्ती पोखरेल
काठमाडौं २ मा सँधै सक्रिय छु, मतदाताको विश्वास जित्छु :
काठमाडौं । काठमाडौंको चहलपहलबाट केही पर, शहर र गाउँको सीमारेखाजस्तो फैलिएको क्षेत्र हो-काठमाडौं क्षेत्र नम्बर २ । सडक, खेत, बस्ती, मन्दिर र डाँडाकाँडाको मिश्रणले बनेको यो क्षेत्र राजधानीको हिस्सा भएपनि विकासको दृष्टिले तुलनात्मक रुपमा अधुरो देखिन्छ ।
यही अधुरो कथालाई आफ्नो चुनावी मुद्दा बनाउँदै मैदानमा उत्रिएकी छन् कुन्ती पोखरेल । राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवारले आगागी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्पष्ट चुनावी खाका समेत तयार गरेर मैदानमा उत्रिएकी छिन् ।
उनको अभियान केवल चुनावी कार्यक्रम जस्तो देखिँदैन । यो झन्डै तीन वर्षदेखि चलिरहेको निरन्तर संवादको विस्तार हो। चुनाव हारिसकेपछि पनि घरदैलो नछोड्ने निर्णयले उनलाई मतदातासँग अलग पहिचान दिएको छ ।
‘पहिला पनि चुनाव उठें । केही मत पुगेन, हारें । त्यसपछि म घरदैलो नै गरिरहेको छु । ठाउँ–ठाउँको समस्याहरु हेर्दै र समधान गर्दै आइरहेको छु,’ उनले भनिन्, ‘पहिले भोट माग्न जाँदा नेताहरु चुनावको टाइममा मात्रै आउँछन् भन्ने प्रश्न आउँथ्यो अहिले जाँदा बहिनी, तिमीले ठिक गर्यौ भन्नुहुन्छ। एकदमै राम्रो लाग्छ ।’
उनले पहिले चुनाव हारेपनि चुनावपछि आफू त्यही क्षेत्रमा सक्रिय रहेको बताइन् । नेतृ पोख्रेल आफ्नो क्षेत्र राजधानीको छेउमा रहेको अर्को संसार जस्तो भएको बताउँछिन् । उनका अनुसार क्षेत्र नम्बर २ राजधानीसँग जोडिएपनि त्यहाँको जीवनशैली फरक छ । माथिल्लो भेगमा सडकको अभाव छ भने तलतिर किसान मल र बिउका लागि संघर्ष गरिरहेका छन्। शहर विस्तार हुँदै जाँदा खेतीयोग्य जमिन घट्ने चिन्ता पनि उत्तिकै छ ।
कुन्ती पोखरेलका अनुसार यो क्षेत्र न त पूर्ण रूपमा शहरी हो, न पूर्ण ग्रामीण । यो क्षेत्र अब विकाससँग नै जोड्दिनुपर्ने आवश्यकता छ । काठमाडौंको छेउमा भएपनि विकासदेखि लिएर सानो सानो समस्याहरु त्यसै, तितर–बितर छन्,’ उनले भनिन्, ‘नाङ्लेभारे, कात्तिकेदेखि, पटापदेखि कोटेश्वर, बानेश्वर, गौशाला यहाँसम्म पर्छ, काठमाडौंको मुटुदेखि शंखरापुरसम्म यहाँका समस्याहरु भिन्न–भिन्न किसिमका छन्।’
उनले कृषिभूमी भएर पनि मलर बिउको चपेटामा किसान रहुन परेको उल्लेख गर्दै भनिन, ‘माथि पटापमा अब बाटोको समस्या छ, तल झरेसी कृषिमा समस्या छ, मल छैन । त्यो कृषिमा बिउ छैन, मल छैन, पानीको समस्या छ ।’ उनको नजरमा विकासको समस्या केवल पूर्वाधारको होइन, प्रतिनिधित्वको पनि हो। संसदमा पुगेपछि क्षेत्रको आवाज हराउने प्रवृत्तिलाई बदल्नुपर्ने उनको धारणा छ ।
‘हाम्रो क्षेत्रको समस्या सांसदहरुले कहिलेपनि सुनेन् दुई नम्बर क्षेत्र खाली पद लिन मात्रै आए, सांसद बन्नको लागि आउँछन्, सदन भित्र छिर्छन् र यहाँको समस्या केही पनि हेर्दैनन्’, उनी भन्छिन् ।