काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष भएको स्मरण गराएकी छन् ।
बिहीबार राष्ट्रिय प्रजातन्त्र दिवसको मूल समारोह २०८२ लाई सम्बोधन गर्दै ७६औँ प्रजातन्त्र दिवसको अवसरमा ०७ सालको क्रान्तिले नागरिकलाई रैतीबाट नागरिक बनाएको महान् दिनको रूपमा मूल्याङ्कन गर्दै, आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार पनि यही क्रान्तिमा रहेको उल्लेख गरेकी हुन् ।
‘२००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र थिएन । त्यो नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष थियो । त्यही सालको फागुन ७ गते हामीलाई रैतीबाट नागरिक बनाउने एउटा महान् दिन थियो । आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग पनि २००७ सालको राजनीतिक क्रान्ति नै हो,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले प्रजातन्त्र दिवस मनाउँदा हामीले आत्मसमीक्षा गर्नुपर्ने औँल्याउँदै भनेकी छन्, ‘संविधानमा समानता लेखिए पनि व्यवहारमा विभेद र असमानता कायम रहेको छ ।’
सत्तामा सीमित वर्गको हालीमुहाली, स्रोत–साधनमा एकाधिकार र राज्य संरचनामा असमान अभ्यासले जनता असन्तुष्ट भएको उनले औँल्याइन्।
भदौ २३–२४ मा युवा नेतृत्वको ‘जेनजी आन्दोलन’ का घटनालाई उदाहरण दिँदै उनले असन्तोषको आवाजलाई दमन गर्ने होइन, सुधारको अवसरको रूपमा ग्रहण गर्नु आवश्यक भएको उल्लेख गरिन्।
लोकतन्त्र केवल प्रक्रिया मात्र नभई परिणाम दिने प्रणाली भएको र आम मानिसको जीवनमा यसको वास्तविक झल्को देखिनुपर्ने उनले जोड दिइन्।