काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणका पीडितहरू यतिबेला दोहोरो पीडामा छन् । एकातिर जीवनभरको बचत गुमेको चोट, अर्कोतिर रकम फिर्ता माग्दा सामाजिक बहिस्कारमा पर्न सकिने डर सोहि कारण पीडितहरू खुलेर बोल्नसमेत हिच्किचाइरहेका छन् ।
बुटवलका एक व्यवसायीले सुप्रिम सहकारीमा जम्मा गरेको ३५ लाख रुपैयाँभन्दा बढी रकम गुमाएका छन् । तर उनी अहिले उक्त विषयमा बोल्न चाहँदैनन् ।
“धेरै नेता गुहारियो, सरकारलाई भनियो, बोलेर थाकियो, अब शान्त बस्नु नै ठीक लाग्छ,” उनले नाम उल्लेख नगर्ने सर्तमा भने, “आफूले पाउनु पर्ने रकम माग्दा नै समाज खनिन्छ कि भन्ने डर छ ।”
सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा सहकारीका अध्यक्ष ओम गुरुङ हाल भैरहवास्थित कारागारमा छन् । उक्त मुद्दामा नाम जोडिएका रवि लामिछाने भने हाल राजनीतिक गतिविधिमा सक्रिय छन् । उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू निर्वाचन अभियानमा व्यस्त छन् ।
उम्मेदवारलाई ध्यानाकर्षण, तर ठोस आश्वासन छैन
बुटवलमा गठन भएको सहकारी पीडित सङ्घर्ष समितिका संयोजक विजय नेपालका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूलाई रकम फिर्ता गराउने विषयमा ध्यानाकर्षण पत्र बुझाइएको छ ।
ध्यानाकर्षण पत्र बुझाइएका नेताहरूमा विष्णु पौडेल, चुन्न प्रसाद पौडेल, बासुदेव घिमिरे, गौरव बोहोरा, विश्वदिप पाण्डेय लगायत रहेका छन् । त्यसैगरी रास्वपाका उम्मेदवार सुलभ खरेल र लेखजंग थापालाई पनि पत्र बुझाइएको समितिले जनाएको छ । पीडितहरूको भनाइमा, अधिकांश उम्मेदवारले सहानुभूति जनाए पनि रकम फिर्ता गराउने विषयमा ठोस प्रतिबद्धता दिएका छैनन् । रास्वपा उम्मेदवार खरेलले निर्वाचनपछि पहल गर्ने आश्वासन दिएको बताइएको छ ।