बुटवल । नेपाल कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र रहेको बताएका छन् ।
शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई संबोधन गर्दै सभापति थापाले आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन राष्ट्रिय मुद्धामा अन्य दललाईसमेत मिलाएर अगाडि बढ्ने तागत रहेको बताएका हुन् ।
उनले यही कारणले पनि कांग्रेसलाई भोट नहाल्ने कुनै कारण नभएको बताए । उनले उम्मेदवारसँगै कांग्रेस नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन, घर घरमा गएर रूखमा मतदान गरेर कांग्रेसलाई जिताउँ भनेर आग्रह गर्नुहोस् ।’
सभापति थापाले अगाडि भने, ‘किसानका खेतमा मल पुर्याउनेदेखि पहाडका बाँदर धपाउनेसम्म टिम बनाएर अध्ययन गरेर जनताका माझ मत माग्न आएको हुँ । सामाजिक सञ्जालमा अड्केर नबस्नुहोस् घर–घरमा जानुहोस् हाम्रो बारेमा सबै कुरा गर्नुहोस्।’
यो क्षेत्रका उम्मेदवारका लागि आफूले मेहनत गरेर केही नहुने भन्दै सभापति थापाले भने, ‘यस क्षेत्रका उम्मेदवार सबैलाई आ–आफ्नो क्षेत्रमा दिनरात मेहनत गरेका छन् । उम्मेदवारले मेहनत गरेर म गगन थापा भएर तपाईसँग भोट माग्न आग्रह गरेको छ । पाँच वर्षलाई रूखलाई भोट दिनुहोस् देश हामी बनाउँछौँ ।’
सभापति थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरे । उनले निर्वाचनको मिति नजिकिएको भन्दै नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका हुन् ।
सभापति थापाले भने, ‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ – केही दिनमात्र बाँकी छ । नअलमलिनुस् कोही पनि साथीहरू । घर–घरमा जानुस् । तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् ।’