सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भबिष्य तय गर्ने दाबी गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले शनिबार घरदैलोको क्रममा आममतदातालाई सम्बोधन गर्दै राज्यले विगत झै मधेशलाई उपेक्षा गरेर समृद्ध मुलुक बन्नै नसक्ने दाबी गरे ।
‘मधेश केवल भौगोलिक क्षेत्र होइन, यो स्वाभिमान र अधिकारको ज्वलन्त आवाज हो,’अध्यक्ष यादवले भने,‘अबको निर्णायक शक्ति मधेश हो, र देशको भविष्य पनि मधेशले नै तय गर्नेछ ।’
मधेशको आन्दोलन, बलिदान र त्यागको स्मरण गर्दै मधेश बलियो भयो भने मात्र संघीयता बलियो हुन्छ, देश पनि सुरक्षित र समृद्ध हुने बताए ।
जसपा नेपालले नै मधेशको एजेन्डा, विभेद, उत्पीडन र पहिचानका सवाललाई गाउँगाउँदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याएको जिकिर गर्दै उनले भने, ‘मधेशमाथिको ऐतिहासिक अन्याय र संरचनागत विभेद नस्वीकार्ने, नबुझ्नेहरू मधेशको हितैषी हुनै सक्दैनन् ।’
विगतको संघर्षलाई केवल इतिहास नभई भविष्यको आधार भएको भन्दै उनले मधेशलाई उपेक्षा गरेर विकास र समृद्धिको सपना केवल खोक्रो नारा मात्र हुने बताए ।
जसको एजेन्डामा मधेशको समस्या र उत्पीडनको सवाल स्पष्ट छैन, उसले मधेशको नेतृत्व कसरी गर्छ ? नयाँ दलहरूप्रति संकेत गर्दै उनले भने,’ ‘केही शक्तिहरूको ध्यान केवल मधेशको भोटमा मात्रै केन्द्रित छ, तर मधेशले सदियौदेखि भोग्दै आएको गरिबी, अशिक्षा, बेरोजगारी र राज्यको विभेदप्रति उनीहरूमा कुनै संवेदनशीलता छैन ।’
जसपा अध्यक्ष यादवले यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्रै होइन, यो मधेशको सम्मान, अधिकार र भविष्य जोगाउने महत्वपूर्ण निर्णायक अवसर भएको बताउँदै आममतदातालाई सचेत, एकताबद्ध र दृढ भएर मधेशको अस्तित्व र स्वाभिमानको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
यो निर्वाचनबाट जसपा नेपाल एउटा निर्णायक शक्तिको रुपमा उदाउने अध्यक्ष यादवको दाबी छ ।