काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनमा युवा उपाध्यक्षका उम्मेदवार मदनराज पौडेलले संस्थामा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित हुनुपर्ने बताएका छन् ।
पौडेलले एनआरएनएको संरचनामा युवाहरूको प्रतिनिधित्व अपेक्षाकृत कम रहेको उल्लेख गर्दै विभिन्न तह र पदमा युवाहरूको सहभागिता बढाउन आवश्यक रहेको बताए । उनले विधानमै कम्तीमा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे ।
‘विभिन्न तहका कार्यसमितिमा युवाहरूको सहभागिता हुनुपर्ने अनुपातमा देखिँदैन। त्यसैले विधानमै ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवाज उठाइरहेको छु,’उनले भने ।
पौडेलले आफ्नो उम्मेदवारीप्रति विभिन्न देशमा रहेका युवा नेपालीहरू उत्साहित रहेको दाबी गर्दै युवाहरूको सामूहिक चाहना र आग्रहका आधारमा आफूले उम्मेदवारी दिएको बताएका छन् ।
एनआरएनएको आगामी २०२५–२०२७ कार्यकालका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पौडेलले ‘सहयात्रा दोस्रो पुस्तासँग’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा रहेको पनि बताए ।
‘धेरै युवा साथीहरूले ‘तपाईं हाम्रो प्रतिनिधित्व गर्नुस्’ भनेर आग्रह गरेकाले विश्वभर रहेका युवाहरूको भावनालाई सम्मान सम्मान स्वरुप अगाडि बढेको धारणा राखे ।
उनका अनुसार एनआरएनए अहिले इतिहासकै संवेदनशील मोडमा रहेको छ । उनले संस्थाभित्र विगत केही समयदेखि देखिएका विवाद, असहमति र समस्यालाई समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउने आवश्यकता औंल्याए ।
‘लामो समयदेखि विभिन्न असहमतिहरू र विवाद देखिएका छन् । यो महाधिवेशनले एकताको सन्देश दिँदै नयाँ नेतृत्वमार्फत संस्थालाई सकारात्मक दिशामा अघि बढाउनेछ भन्ने विश्वास छ,’उनले भने ।