वीरगन्ज । वीरगन्जको प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पस अहिले रणमैदानमा परिणत भएको छ । क्याम्पस सञ्चालक समिति र प्राध्यापक संघबीचको आन्तरिक शक्ति संघर्ष र खिचातानीका कारण करिब ४ हजार विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिएको छ ।
सोमबारदेखि सञ्चालन हुने भनिएको त्रैमासिक परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरू सडकमा उत्रिएका छन् । लामो समयदेखि तयारी गरेर परीक्षा दिन क्याम्पस पुगेका ३ हजारभन्दा बढी विद्यार्थीहरू त्यतिबेला छाँगाबाट खसेझैँ भए, जब प्रशासनले ‘परीक्षा स्थगित’ को सूचना टाँस्यो ।
कलेज प्रशासन, क्याम्पस प्रमुख र सञ्चालक समितिको गैरजिम्मेवारीपन विरुद्ध विद्यार्थीहरूले क्याम्पसको मूलढोकामा धर्ना दिँदै नाराबाजी गरे । ‘हाम्रो भविष्यमाथि राजनीति गर्न पाइँदैन, आन्तरिक झगडाले परीक्षा रोक्न पाइँदैन’ भन्दै विद्यार्थीहरूले क्याम्पस परिसरबाट विरोध ¥याली निकालेका थिए ।
घण्टाघरमा चक्काजाम र प्रहरीसँग ठेलमठेल
क्याम्पसबाट निस्किएको आक्रोशित विद्यार्थीहरूको समूह वीरगन्जको मुटु मानिने घण्टाघर चोकमा पुगेर टायर बाल्दै प्रदर्शनमा उत्रियो । प्रदर्शनका कारण वीरगन्जको मुख्य सडक दुवैतर्फी रूपमा अवरुद्ध भयो भने यातायात पूर्णतः ठप्प बन्यो ।
स्थिति नियन्त्रण बाहिर जान लागेपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनका क्रममा आक्रोशित भीडले सामान्य तोडफोडको प्रयास गरेपछि प्रहरी र विद्यार्थीबीच ठेलमठेल भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही विद्यार्थीहरूलाई नियन्त्रणमा समेत लिएको छ ।