आकांक्षा धामी / नेपाल न्यूज बैंक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री चैत १३ गते बने । सुधन गुरुङ गृहमन्त्री नियुक्त भएको एक साताभित्रै उच्च–प्रोफाइल व्यक्तिहरूको धमाधम पक्राउसँगै सरकार आक्रामक कार्यशैलीमा उत्रिएको छ ।
१३ गते नियुक्त भएर २० गतेसम्म एकहप्तामा आइपुग्दा गृहमन्त्रीले सात जनालाई प्रकाउ गरेका छन् । उनी हिन्दी फिल्म झै एक्सनमा उत्रिएर काम गरिरहेका छन् ।
बालेन्द्र शाह नेतृत्वको सरकारमा शक्तिशाली मानिने गृह मन्त्रालयको नेतृत्वमा सुधन गुरुङको नाम प्रस्तावका रूपमा सार्वजनिक हुँदा धरैले आश्चर्य मानेका थिए ।
नमानून् पनि किन, ‘सांसद्हरूलाई तलबै नदिऊँ है’ भन्दै उनले दिएका अभिव्यक्ति त कहिले पत्रकार सम्मेलनमा ‘हाम्रो एजेन्डा के रे.’ भन्दै सोधेको पृष्ठभूमि । सार्वजनिक भएका यस्तै यस्तै स–साना दृश्यका कारण सुधनलाई गृहमन्त्रीका रूपमा अघि सारिएकोमा धेरैले आश्चर्य व्यक्त गरेका थिए । कुनैबेला संविधान संशोधनका विषयमा दिएको एक अभिव्यक्ति पनि धेरैले चासोका साथ लिएका थिए ।
तर, गृहमन्त्री नियुक्त भएपछिका एक सातामा उनले आफूमाथि उठेका हरेक प्रश्नको जवाफ कामबाट दिने प्रयास गरिरहेका छन् । तर उनले लिएका कदमहरु ‘प्रतिशोध’,‘पूर्वाग्रही’ र ऐन–कानुनसँग बाझिने किसिमका भएको भनेर आलोचना समेत भइरहेको छ ।
पहिलेको सरकारका पालामा अड्किएका अनुसन्धानका फाइलहरू उनले धमाधम खोलिरहेका छन् । जसले ‘हाइ–प्रोफाइल’हरुलाई टाउको दुखाइ बनेको छ ।
गृहमन्त्रीको एक हप्ता
चैत १३ गते (नियुक्ति दिन)
गृहमन्त्री नियुक्त भएकै दिन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न निर्देशन दिए ।
चैत १४ गते (शनिबार)
चैत १४ गते केपी ओली र रमेश लेखकलाई निवासबाट पक्राउ गरियो । प्रकाउ गर्दा केहीबेर ओली निवासमा तनाव सिर्जना भयो भने लेखक स्वेच्छाले उपस्थित भए । पक्राउ नहुँदासम्म गुरुङ प्रहरी मुख्यालयमै बसेर निर्देशन दिइरहेका थिए । सोही दिन जावलाखेल र सातदोबाटोमा निरीक्षण गर्दै एमाले नेता कर्णबहादुर मल्ललाई समेत पक्राउ गरियो ।